काठमाडौ/ सर्वोच्च अदालतको पटक पटकको रिहाइ गर्ने आदेश हुँदा हुँदै पनि अदालत परिसर भित्रैबाट प्रहरीले गिरफ्तार गर्दै कानूनीराजको धज्जी उडाइरहेको अवस्थामा नेकपाका प्रवक्ता प्रकाण्डलाई आफूले पक्राउ गर्न आदेश नदिएको लिखित जवाफ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सर्वोच्च अदालतलाई दिएका छन् ।
बादलले गृहमन्त्रीको हैसियतमा आफूले कसैलाई थुनामा राख्न गलत र ठाडो आदेश नदिएको दाबी गरेका छन् । सर्वोच्च अदालतले २४ घण्टाभित्र लिखित जवाफ दिन दिएको आदेशअनुसार लिखित जवाफ पेश गर्दै गृहमन्त्री बादलले आफू विधिको शासन र संविधानको पूर्ण पालना गर्ने व्यक्ति भएको जिकिर गरेका छन् । बादलले प्रकाण्डको गिरफ्तारी सम्बन्धमा आफूमाथि बिनाआधार आरोप लगाइएको भन्दै रिट निवेदन खारेज गर्न माग गरेका छन् ।
१३ भदौको मितिमा गृहमन्त्री बादलले सर्वोच्च अदालतमा यस्तो लिखित जवाफ दिएका छन् ।
दुई पटक सम्म सर्वोच्च अदालतले प्रकाण्डलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । आदेश बमोजिम सुनुवाईका क्रममा प्रहरीले प्रकाण्डलाई अदालतमा उपस्थित गराए पनि अदालतले रिहाइ गर्न आदेश दिए लगत्तै आदेशको अवज्ञा गर्दै प्रकाण्डलाई पक्राउ गर्ने गरेका थिए । पछिल्लो पटक सवोच्च अदालतले यहि भदौ १८ गते सोमबार प्रकाण्डको गिरफ्तारीबारे सुनुवाइको मिति तोकेको छ । यसपटक सर्वोच्च अदालतले प्रकाण्डलाई अदालतमा उपस्थित गराउन आदेश गरेको छैन ।
सवौच्च अदालतका कामु प्रधानन्यायाधीश ओम प्रकाश मिश्र समेतले यसअघि प्रकाण्डलाई अदालतमै उपस्थित गराउन आदेश दिने गरेका थिए । कामु प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्ने वा नगर्ने भन्ने विषयमा व्यवस्थापिका संसदको सुनुवाइ समितिमा निर्णय विचाराधीन रहेको छ । यसैबीच प्रकाण्ड भन्दा पहिल्यै पक्राउ परेका नेकपाका पोलिटब्यूरो सदस्य कृष्ण धमलासहित दुई जना नेतालाई भने यहि भदौ १७ गते आइतबार सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको थहा भएको छ ।

















