‘को राम्रो को नराम्रो, तर्क चाँही अर्कै छ,………पुलिसको दोष मात्र हो, घटना अर्कै छ……..’
धनगढी/ गौरा पर्वको अवसरमा मङ्गलबार स्थानीय वनदेवी मन्दिर परिसरमा गोलबन्द भएर खेलिएको डेउडाको भाकामा गीतेरु(गीतकार) बिर्खबहादुर सायरको समूहले गीत गाए ।
डेउडा खेल्न गोलबन्द भएकामध्ये अर्को समूहको नेतृत्व गरेका गीतेरु(गीतकार) नारद न्यौपानेले खेल आरम्भ गर्दै डेउडाको भाखामा प्रश्न तेस्र्याएपछि सायरको समूहले प्रतिउत्तर फर्काएको थियो ।
कञ्चनपुरमा भएको बालिका बलात्कारको घटनापछि देखिएको जनआक्रोस, सुरक्षा व्यवस्था र त्यसपछि प्रहरीले गरिरहेको अनुसन्धान प्रक्रियाको विषयलाई लिएर डेउडा खेलका सौकिन एक आपसमा घोचपेच र तिखो व्यङ्ग गर्दै रमाइरहँदा दर्शकले पनि भरपुर आनन्द लिने अवसर पाएका थिए ।
गोलबन्द भई खेलिएको यो खेलका सहभागीमध्ये आधा सङ्ख्याका खेलाडीले नेपाल प्रहरीका प्रहरी जवानसमेत रहेका डेउडाका गीतेरु सायरले नेतृत्व गरेका समूहलाई साथ दिइरहदा सहभागी अन्यले अर्को समुहका गीतेरु न्यौपानेलाई साथ दिइरहेका थिए ।
गौरा भित्र्याइएसँगै प्रदेश नं ७ का गौरा भित्र्याइने मन्दिर र गौरा घरमा गौरा सम्बन्धी डेउडा, चैत, धमारी जस्ता खेल खेल्नेको यतिबेला दिनहुँ घुइँचो लाग्ने गरेको छ । पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंबदन्ती छ ।


















