काठमाडौं/ एमएड प्रथम सेमेस्टर साइकोलोजी विषयको प्रश्नपत्र प्रश्नपत्र लिक भएको प्रमाणित भएपछि त्रिविद्वारा परीक्षा स्थगित गरिएको छ । मंगलबार बिहान ११ बजे हुने भनिएको परीक्षा सरु हुनु अगावै प्रश्नपत्र लिक भएको थियो ।
प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका प्रश्नहरु नै आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा आयो ।
देशभरका ३८ परीक्षा केन्द्रमा परीक्षार्थी पुग्दानपुग्दै प्रश्नपत्र सामाजिक सञ्जालमा छरपस्ट भइसकेको थियो । त्रिभुवन विश्वविद्यालयले तत्कालै छानबिन ग(यो । परीक्षाका लागि तय भएको प्रश्नपत्र नै सामाजिक सञ्जालमा पुगेको पुष्टि भएपछि परीक्षा स्थगित भयो ।
त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितिका अध्यक्ष प्रा. होमनाथ भट्टराईले प्रश्नपत्र तयार पारेका हुन् । आफूबाटै प्रश्नपत्र आउट भएको उनले स्विकारेका छन् । ‘प्रश्नपत्र मेरो पेनड्राइभमा थियो, त्यसमा बिएड, एमएडका कोर्सका फाइल पनि थिए, कोर्स दिँदा प्रश्नपत्र गएजस्तो लाग्छ,’ उनले मिडियामा जवाफ दिए ।
तर, आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि प्रा. भट्टराईकै गम्भीर दोष देखिएको छ । फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका थिए ।
आइतबारको परीक्षा रद्द गर्ने विषयमा परीक्षा समितिमा छलफल भए पनि कुनै निर्णय भएको छैन । विषयगत समितिकै अध्यक्षले लेखेको किताबमा नमुना प्रश्नपत्र राख्ने र त्यही प्रश्नपत्र हुबहु परीक्षामा वितरण गर्ने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयको साखमा चुनौती दिएको छ ।
विश्वविद्यालयको नियमअनुसार अनियमित गर्ने प्राध्यापकलाई दुई वर्षसम्म उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणलगायतका परीक्षाका सबै काम गर्नबाट वञ्चित गर्ने सक्ने व्यवस्था छ । विभागको जिम्मेवारी पाएका व्यक्तिलाई पदबाट मुक्तसम्म गर्ने सक्ने व्यवस्था छ ।
प्राध्यापक भट्टराई भन्छन्–गल्ती भयो, जिम्मा लिन्छु
प्रा. होमनाथ भट्टराई
प्रश्न बाहिरिएको थाहा पाएँ । मेरो पेनड्राइभबाट बाहिरिएको हो जस्तो लाग्छ । बाहिरिएको थाहा पाएपछि परीक्षामा गएर जानकारी भयो । मेरो पेनड्राइभमा धेरै फाइल थिए । त्यसमा बिएड, एमएडलगायत सबैका कोर्स त्यही पेनड्राइभमा थिए । कोर्स दिँदा प्रश्नपत्र पनि गएछ । म जिम्मेवार भएकाले मैले जिम्मेवारी लिनुप¥यो । १७ गतेको परीक्षाको प्रश्नपत्र पनि यस्तै भएको होला । त्यो पनि ‘ब्लन्डर’ भयो । त्यो पनि पुनः परीक्षा गर्नुप¥यो । मैले सबै सूचना परीक्षालाई दिएको छु ।नयाँ पत्रिका

















