देशभक्त ओलीलाई किन भारतभक्तको आरोप ?

236

–निमकान्त पाण्डे
नेपालको संविधानसभाबाट अत्यधिक बहुमतले पारित गरेको र देशको हितको निम्ति जारी गरिएको संविधानमा छिमेकी देशबाट विमति जनाउँदै नेपाल र नेपाली जनताका विरुद्ध नाकाबन्दी लगाइएका बेला नाकाबन्दीका विरुद्ध अडान लिएर देशलाई आत्मनिर्भर अर्थतन्त्रमा विकसित गराउने अभियान थालनी गरेका तत्कालीन प्रधानमन्त्री केपी ओली दोस्रोपटक प्रधानमन्त्री बनेपछि किन अन्यौलग्रस्त बनेका छन्, सर्वत्र जिज्ञासाको विषय भएको छ ।

भारतीय नाकाबन्दीकाविरुद्ध अडान लिंदा माओवादी पार्टीको सहयोगबाट प्रधानमन्त्री बनेको अवस्था थियो । कुनै पनि बेला सरकार ढल्नसक्ने स्थिति थियो । त्यस्तो अवस्थामा पनि भारतीय नाकाबन्दीको सामना गरेर दैनिक उपभोग्य सामग्रीहरू उत्तरतिरको छिमेकी मुलुकबाट आयात गरेर नेपाली जनतालाई गुजारा चलाउन व्यवस्था गर्न सफल भएको केपी ओली अहिले बहुमतको सरकारको शक्तिशाली बन्नुभएको अवस्था छ । तर प्रधानमन्त्री ओलीको कार्यशैली बहुमतको सरकारको प्रधानमन्त्री बन्नुभन्दा अगाडिको प्रधानमन्त्रीका हैसियत रहेका बेला गरेका कामहरू नेपाल राष्ट्र र नेपाली जनताको हितमा रहेका देखिन्छन् ।

देशले शक्तिशाली सरकार पाएको ७ महिना बितिसकेको छ । करिब ६३ वर्षपछि देशले दुईतिहाइ बहुमतको सरकार पाएको छ । गणतन्त्रात्मक मुलुकको जननिर्वाचित प्रधानमन्त्रीका रूपमा दुईतिहाइ बहुमतको हैसियत केपी ओलीलाई प्राप्त छ । यस मानेमा केपी ओली राणाकालका प्रधानमन्त्री जंगबहादुर जत्तिकै शक्तिशाली भएको अवस्था छ । २०१५ सालमा वीपी कोइराला प्रधानमन्त्री रहेका बेला उनी राजतन्त्रको शिकार बनेका थिए । आजको अवस्था त्यस्तो छैन । राजतन्त्रले दुईतिहाइ बहुमतको सरकारलाई पनि विस्थापित गरेको थियो ।

आजको अवस्था नितान्त फरक छ । प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारलाई कसैले पनि हल्लाउनसक्ने अवस्था छैन । परन्तु देश अहिले चौतर्फी समस्याबाट गुज्रिरहेको छ । संविधान निर्माणको विषयलाई लिएर उत्पन्न असमझदारीका बीच पनि पार्टी एकीकरण भएर बहुमतको सरकार बनेको अवस्थामा यो सरकारले राष्ट्रको हितमा काम गर्न नसक्ने कुनै कारण छैन ।

नाकाबन्दीको स्तरसम्म उत्रिएको भारतले नाकाबन्दीसँगै मधेस आन्दोलनलाई भड्काउँदै संविधान संशोधनदेखि नेपालको अहित हुने किसिमका अन्य सन्धिसम्झौतासमेत आफ्नो पक्षमा बनाउने षडयन्त्र गरेको थियो । जनताको मतबाट विजयी भएर शक्तिशाली सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले जनताको हितको निम्ति भन्दा छिमेकी देशको स्वार्थको निम्ति मात्र काम गर्ने शैली विकास गरेको देखिन्छ । यो स्थितिले जनतामा सरकारप्रति निराशा बढाएको छ । भारतलाई रिझाउन एकपछि अर्काे गर्दै नेताहरूले भारतको भ्रमण गरिरहेको देखिन्छ ।

केही समयपछि प्रचण्डले भारत भ्रमण गर्ने चर्चा व्यापक भइरहेको छ । सम्बन्ध सुधारका निम्ति भारतको कुरा प्रचण्डले प्रचार गरिरहनु भएको छ । केपी ओलीले देशको हितमा काम गरिरहेका बेला, दैनिक उपभोग्य सामग्रीको वैकल्पिक व्यवस्था गरिरहेका बेला, पट्रोलियम पदार्थको उत्खनन्तर्पm उत्तरतिरको छिमेकी देशको संमेत नेपालमा विशेष चहलपहल बढिरहेका बेला अकस्मात केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफू प्रधानमन्त्री बन्ने खेलमा सफल भएका प्रचण्ड अहिले भारत भ्रमण जाने तयारी गर्नु नेपालको हितमा होला भनेर कल्पना गर्ने ठाउँ छैन । स्वयं प्रधानमन्त्री केपी ओली समेत भारतको भ्रमण गरेर फर्किसकेको अवस्था छ भने भारतको चाहनाविपरीत केपी ओलीले कुनै पनि काम गर्ने हिम्मत गर्न सकेको अवस्था छैन । यस्तो अवस्थाबीच प्रचण्डको भारत भ्रमण नेपालको हितमा केन्द्रित रहने आशा गर्न सकिंदैन ।

मुलुकको स्वाधीनता र सार्वभौमसत्ताको जिम्मेवारी सम्हालेको नेपाली सेनाका प्रधानसेनापतिसहितको नेतृत्व बिम्स्टेकको सैन्य अभ्यासको नाममा भारतको शक्ति प्रदर्शन गराउने काममा प्रयोग हुनुपर्ने अवस्था देशभित्र विकसित भएको छ । नाकाबन्दीका बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतको भ्रमण गरेर फर्किएलगत्तै नाकाबन्दी हटेको थियो । नाकाबन्दी हटेलगत्तै प्रधानमन्त्री केपी ओली पनि सरकारबाट हट्नुपरेको अवस्था थियो । त्यो अवस्थाले एकातर्फ नेपाल मामिलामा अनावश्यक चासो देखाउँदै नाकाबन्दीको स्तरसम्म भारतले उत्रिनुपर्ने कुनै कारण थिएन भन्ने कुरा पुष्टि गरेको छ भने अर्काेतर्फ नेपालीहरूलाई नै भड्काएर दुःख दिने काम भारतले गरिरहेको पनि पुष्टि भएको छ । त्यसैले भारतले नेपालको हितमा कुनै सोच बनाउला र नेपाललाई सहयोग पु¥याउला भन्ने आशा गर्नु वर्तमान सरकारको निम्ति आवश्यक छैन ।

सरकार आफैमा बलियो छ, शक्तिशाली छ । यो सरकारले देश र जनताको हितका निम्ति अभियान नै चलाउन आवश्यक छ । जनताको हितका निम्ति काम गरियो भने कुनै पनि विदेशी शक्तिले चाहँदैमा सरकारलाई अस्थिर बनाउन अवस्था अब छैन भन्ने कुरा क.केपी ओलीले बुझ्न नसक्नु दुर्भाग्यपूर्ण हो । आखिर अल्पमतको सरकारको नेतृत्व गर्दाका अवस्थाका देशभक्त क.केपीओलीमाथि आज शक्तिशाली दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहँदा भारतभक्तको आरोप किन लागिरहेको छ ? यो आरोपप्रति कमरेड ओली गम्भीर बन्नैपर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here