काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिएका छन् । पुननिर्माण प्राधिकरणको निर्देशक समितिको १३औँ बैठकलाई विहिबार सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्पपीडितलाई यथाशक्य चाँडो घरबासको व्यवस्था मिलाउन निर्देशन दिए ।
प्राधिकरण निश्चित समयका लागि भएकाले समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो “पुनःनिर्माण प्राधिकरण घामजुन रहेसम्मका लागि स्थापना गरिएको होइन, त्यसकारण यसले यथाशक्य चाँडो पुनःनिर्माणको काम सम्पन्न गर्नुपर्दछ ।” ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारको अनुदान नपाई घर निर्माण गरेका पीडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले भने, “पीडितले घर बनाएको भनेर जनप्रतिनिधिले सिफारिश गरेका आधारमा अनुदान रकम उपलब्ध गराउनुहोस्, आफैँ गएर निकर्यौल गर्नुस् ।”
प्रधानमन्त्री ओलीले प्राधिकरणका पूर्वकार्यकारी अधिकृत र कर्मचारीले लिएको फिल्ड भत्ताको विषयमा पनि चासो व्यक्त गरे । “बैठक कार्यालय समयमा राख्नुहोस्, कार्यालय समयमा तपाईंहरूलाई सरकारले तलब दिएको छ । त्यस समयमा गरेको कामको अतिरिक्त पैसा सरकारले दिँदैन”, प्रधानमन्त्री ओलीले भने, “कर्मचारीको दुर्गम भत्ताका विषयमा छलफल गरेर निर्णय गरौँला ।”
प्रधानमन्त्री ओलीले धरहरा निर्माणको टेण्डरका विषयमा पनि चासो व्यक्त गरे “धरहरा पुनःनिर्माणमा अनुमानभन्दा कम रकममा ठेक्का सकारेको देखिन्छ”, प्रधानमन्त्री ओलीले भने, “तर यसको गुणस्तरमा कुनै कमी हुनु हुँदैन । ठेक्का नै कम रकममा लिएको भनेर गुणस्तरहीन काम गर्न पाइँदैन ।”
प्रधानमन्त्री ओलीले धरहरा पुनःनिर्माणका लागि इञ्जिनियर खटाउन, दैनिक नापजाँच गर्न, प्रयोग गरिएका निर्माण सामग्रीको गुणस्तर जाँच्न र दैनिक प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् ।


















