काठमाण्डौ/ सत्तासिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता राम कार्कीले वर्तमान सरकार कम्युनिस्ट चरित्रको नभएको आरोप लगाएका छन् । उनले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था आएको धारणा व्यक्त गरेका छन् ।
बुटवलको एक कार्यक्रममा बोल्दै कार्कीले राजाहरुमध्ये शक्तिशाली राजा ज्ञानेन्द्रलाई त जनताले ५ वर्ष टिक्न नदिएको स्मरण गराउँदै अहिलेको सरकार पनि यस्तै दम्भका साथ अगाडि बढ्ने हो भने ५ वर्ष नटिक्ने चेतावनी दिए।
त्यस्तै सत्तासिन पार्टीकै अर्का युवा नेता घनश्याम भुसालले पनि पार्टी नेतृत्वको आलोचना गर्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
नेतृत्वले माक्र्सवादी विचार र सिद्धान्त अनुरुप आफूलाई रुपान्तरण गर्न नसके कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार धरापमा पर्न सक्ने चेतावनी भुसालले दिएका छन् ।
उनले समाजवादसम्मको गन्तब्य तय गरेको दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारका गतिविधि समाजवाद उन्मुख नदेखिएको भन्दै नेतृत्वको यस्तै रवैया रहिरहे वर्तमान सरकार धेरै दिन टिक्न मुस्किल पर्ने चेतावनी पनि दिए ।
कार्ल माक्र्स जन्म दुईशतवार्षिकी समारोह, राष्ट्रिय समितिद्वारा रुपन्देहीको मणिग्राममा आयोजित गोष्ठीमा बोल्दै भुसालले दुई तिहाई बहुमतप्राप्त सरकार मात्रै उपलब्धि नभएको भन्दै उनले यसको सदुपयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टी नेतृत्वलाई कार्यशैली बदल्न सुझाव दिएका छन् ।

















