काठमाडौं/ राष्ट्रियसभाको आज बसेको बैठकमा निर्मला पन्त प्रकरण संगै पत्रकार गिरफ्तारी बारे पनि चर्चा चल्यो । सांसद राधेश्याम अधिकारीले ‘खोजतलास डटकम’का सम्पादक राजु बस्नेतलाई समाचार प्रकाशन गरेकै आधारमा थुनामा राखिएकोप्रति आपत्ति प्रकट गर्दै अविलम्ब रिहा गर्न माग गर्नुभयो ।
आजकै बैठकमा सांसद बद्री पाण्डेले कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाप्रति सरकारको ध्यानाकर्षण गराउँदै छानबिन समितिका सदस्य केसीले असुरक्षाको कारण देखाउँदै राजीनामा दिनु गम्भीर विषय भएको भन्नुभयो । उपसचिव केसीले निष्पक्ष छानबिन हुन नसक्ने देखिएपछि राजीनामा दिएको अभिव्यक्तिका सम्बन्धमा गृहमन्त्रीसँग ठोस जवाफ माग गर्नुभयो ।

















