काठमाडौं/ नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दुई वर्षपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष आफू बन्ने फेरि दाबी गरेका छन् । नेपालमा हुँदा केही नबोलेका प्रचण्डले भारत क्रममा आइतबार प्रकाशित हिन्दुस्तान टाइम्सको अनलाइनलाई अन्तरवार्ता दिँदै यही ३ जेठमा भएको पार्टी एकीकरणका बेला दुई वर्षपछि आफू अध्यक्ष र प्रधानमन्त्री बन्ने सहमति भएको जनाएका छन् ।
तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीसंग गोप्य रुपमा यो सहमति भएको अन्तरवार्तामा उनले खुलाएका छन् । उनले हाल दुवै अध्यक्षबीच कुनै विवाद नरहेको र वर्तमान कम्युनिष्ट सरकार सफल भएको दाबी गरेका छन् ।
सहमति अनुसार ओली अहिले प्रधानमन्त्री भएका हुन् र दुवैले दुई वर्षसम्म समान हैसियतमा अध्यक्ष पद चलाउने समझदारी हो , दाहालले अन्तरवार्तामा भनेका छन् , ‘यो सरकार दुई वर्ष पुगेपछि केपी ओलीले प्रधानमन्त्री पद छोड्नुहुन्छ । महाधिवेबनसम्म दुवै अध्यक्ष हुनेछौं, यसमा हामीबीच कुनै विवाद छैन ।’ यदि सहमति पालना नभए दुई वर्षपछि नै निर्णय गरिने उनले जनाए ।
दाहालको दिल्ली यात्रा र त्यहाँ भएको उच्चस्तरीय संवादले ओली पक्ष झस्किएको राजनीतिका जानकारहरुले अनुमान गरेका छन् । दाहालले सोमबार दिल्ली भ्रमणबारे सुनाउँदा ओलीले कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ ।
दाहाल भ्रमणबारे ओलीले कुनै प्रतिक्रिया नदिनुले ओली प्रचण्डबीच सम्बन्ध चिसिएको हुन सक्ने संकेत देखिएको छ ।
दुई नेताबीचको भेटमा बुधबार सचिवालयको बैठक बोलाउने सहमति भएको छ । दाहालले बुधबारको बैठकमा भारत भ्रमणको जानकारी गराउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
















