काठमाडौँ, ३१ भदौ , मनोहरा खोलामा बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले नियन्त्रणमा लिएका प्रहरीहरुमा प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना, प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरी रहेका छन् । उनीहरुलाई शनिबार नियन्त्रणमा लिइएको हो । प्रहरी सहायक निरीक्षक श्रेष्ठले ठेकेदारसँग ३० हजार, प्रहरी सहायक निरीक्षक ढुङ्गाना र प्रहरी हवल्दार भारतीले ४५ हजार, प्रहरी हवल्दार यादव र चौधरीले पाँच÷पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ ।
त्यस्तै प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेललाई पनि घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको छ । प्रहरी जवान रिजाल र रोकाले रु पाँच हजार र प्रहरी जवान कुँवर र पटेलले ठेकेदारसँग रु पाँच÷पाँच हजार घुस मागेका थिए । उनीहरुलाई बानेश्वरको विभिन्न क्षेत्रबाट अख्तियारले नियन्त्रणमा लिएको हो । आयोगले उनीहरुको साथबाट रु एक लाख नगद समेत बरामद गरेको छ ।
















