उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको बजार अनुगमन अपरिपक्व देखिएको छ। मन्त्री यादव नेतृत्वको टोलीको अनुगमनपछि यथेष्ट प्रमाण नै नजुटाई निम्बस समूहले पर्सामा सञ्चालन गरेको तेल उद्योगमा सिल गरेको भेटिएको हो। उद्योगमाथि लगाएको आरोपको प्रमाण नजुटेपछि मन्त्रीकै निर्देशनमा सिल खोलिएको छ। मन्त्री यादव नेतृत्वको टोलीले उद्योगबाट लिएको तेलको स्याम्पल (नमुना) गुणस्तरहीन भन्दै ताला लगाए पनि उद्योगले बजारमा बिक्री गरेको तेल नेपाल गुणस्तर तथा नापतौल विभागको ल्याब परीक्षण गर्दा गुणस्तरीय (खानयोग्य) प्रमाणित भएको छ।
गुणस्तरहीन तेल उत्पादन गरेको आरोपमा मन्त्रीको निर्देशनपछि गत ७ गते उद्योगमा सिल गरिएको थियो। मन्त्रीसहित अनुगमन टोलीको कच्चा अनुगमनले २२ दिन उद्योग बन्द गरेर शुक्रबार सिल खोलिएको छ।
निम्बस समूहले सञ्चालन गरेको प्रोबायोटिक इन्डस्ट्रिज प्रालिले व्यन्जन र सुनौलो किरण ब्रान्डमा तोरी, सूर्यमुखी, सोयाबिन तेल उत्पादन गर्दै आएको छ।
निम्बस समूहले उत्पादन गरेर बजारमा बिक्री गरेको तेल खानयोग्य भएको गुणस्तर विभागका एक अधिकारीले पुष्टि गरे। ‘बजारबाट ल्याएको स्याम्पलको ल्याब टेस्ट गर्दा अखाद्य वस्तु भेटिएन,’ ती अधिकारीले भने, ‘खाने तेलमा हुनुपर्ने सबै गुण भएकाले खानयोग्य छ ।’ मन्त्रालयकै सिफारिसमा विभागले व्यन्जन र सुनौलो तेलको परीक्षण गरेको थियो। नागरिक दैनिकबाट ।


















