मोन्टेपुज/ मोजाम्बिकको उत्तरी क्षेत्रका गाउँलेहरुले माणिक, पद्मराग, मणी, रत्नजस्ता विभिन्न नामले चिनिने बहुमूल्य रुबीको उत्खनन् गर्न थालेको एक दशक बितिसकेको छ । परम्परागत स्थानीय शासक क्रिस्टीना जोकिमले यो रुबी गाउँलेका लागि विषाक्त भाँडो मात्र भएको जनाउनुभयो ।
रुबीबाट धनदौलत र पुरस्कार पाउनुको साटो यहाँका गाउँलेले उत्पीडन र हिंसामात्र होइन स्थानीय प्रशासनले रुबीको प्रलोभनमा खेतीपाती गर्नबाट स्थानीयबासीलाई रोकेको छ ।
रुबीको भण्डार रहेको एन्थोरो गाउँ सबैजसो लडाकू समूह (ग्याङ) को पहिलो निशानामा पर्ने गरेको छ । प्रहरीको समेत संलग्नतामा यो समूहले स्थानीयका घरहरु भत्काउनुका साथै मानिसहरुलाई त्यहाँबाट लखेट्न शक्तिको प्रयोग गरेको पाइएको छ ।
करिब १२ हजार घरपरिवार रहेको यो गाउँमा प्रवेश गर्ने सडकमा गाउँलेलाई आतङ्कित पार्ने दर्जनौं सङ्केतहरु राखिएका छन् : ‘तिमीहरु एमआरएमको खानी क्षेत्रमा बसोबास गरिरहेका छौ । यहाँ खेतीपाती गर्न, घर बनाउन वा कुनै उत्खनन् गर्न निषेध गरिएको छ ।’
लन्डनस्थित जेमफिल्ड्स कम्पनीबाट प्रबद्र्धित मोन्टेपुज रुबी माइनिङ (एमआरएम) ले सन् २०११ मा ३६ हजार हेक्टर जमिनमा रुबी उत्खनन् गर्ने अधिकार पाएको थियो ।
एकजना काठको काम गर्ने स्थानीयबासीले नौ वर्षअघि बहुमूल्य रातो रुबी रहेको पत्ता लगाएसँगै मोजाम्बिकमा रुबीको खोजी र उत्खनन् तिब्र बनेको हो । यहाँ विश्वको करिब ८० प्रतिशत रुबी उत्पादन हुने गरेको छ ।
सन् २०१४ देखि जुन २०१७ को अवधिमा एमआरएमले मोजाम्बिकले आठ पटक रुबीको खानी सञ्चालन गर्न लिलामी गरिसकेको छ । सरकारी विवरण अनुसार यसबाट मोजाम्बिकले २८ करोड अमेरिकी डलर राजश्व प्राप्त गरेको छ ।


















