सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिका २ स्थित भुटाहा बजारमा नचिनेका अज्ञात हतियाधारी समूहले गोली चलाउँदा एकजना स्थानीय नेताको ज्यान गएको छ ।
आज बिहान एघार बजेतिर भारतीय नंम्बर प्लेटको दुइ मोटरसाईकलमा सवार अज्ञात हतियाधारी समूहले बजार नजिकै गोली हानी भुटाहाको नेशनल बोर्डिङ्ग स्कूलको व्यवस्थापन समितिका अध्यक्ष खुर्सित आलमको हत्या गरेका हुन् । आलमको हत्या गरेर मोटरसाइकलमा भारततर्फ भाग्दै गरेको सुटरले चेकजाँचका क्रममा घुस्की प्रहरी चौकीका जवान शिवलाल र अर्को एक जनालाई पनि गोली हानेर भागेका थिए ।
हत्यामा संलग्नहरु भारतीय सुटरहरु हुन सक्ने भएकोले नाकामा चेकजाँच कडा बनाइएको सुनसरीका एसपी राजन अधिकारीले जनाएका छन् । उनले सुरक्षाका लागि भारतीय प्रहरीसँग पनि सहयोग लिइरहेको जनाए । घटनास्थल नेपाल भारत सीमा भन्दा सात किलोमिटर उत्तरमा पर्छ । घटना स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।
स्थानीयका अनुसार दिउँसै बजारमा विद्यालयका प्राध्यानध्यापकको हत्या भएपछि स्थानीय उत्तेजित भएर प्रहरी विरुद्ध नाराबाजी गरिरहेका छन् । प्रहरीले उनीहरुलाई शान्त पार्ने प्रयास गरिरहेको छ ।

















