यस हप्ताको शुक्रवारबाट एकसाथ प्रदर्शन आरम्भ गरेका सुपरस्टार अनमोल केसीको फिल्मबाट डेब्यु गरेका दुई अभिनेत्री बक्सअफिसमा आमनेसामने भएका छन् । ‘ड्रिम्स’ गर्ल साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ र ‘गाजलु’ गर्ल सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘बाँध मायाले’ पहिलो पटक एकअर्कासँग भिडन्तको अनुभव लिँदैछन् ।
हेवी बजेटको साम्राज्ञीको जोडी अभिनेता धिरज मगरसँग बाँधिएको फिल्मलाई चर्चित कोरियोग्राफर रेनाशा वान्तवा राईले निर्देशन गरेकी हुन् । गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइपका कारण उक्त फिल्मले मल्टिप्लेक्समा उच्च शोज पाएको छ । प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेको यस फिल्ममा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।
फिल्म ‘बाँध मायाले’ मा अभिनेत्री सृष्टिको जोडी अभिनेता आर्यन अधिकारीसँग बाँधिएको छ । फिल्ममा उनीहरु अर्जुन र श्रद्धाको भूमिकामा छन् । सविर श्रेष्ठ निर्देशित फिल्ममा किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको अभिनय छ ।
दुई फिल्मको भिडन्तले साम्राज्ञी र सृष्टिको स्टारडम मापन हुने चर्चाको विषय सञ्चार माध्यमहरुमा चलिरहेको छ । यसपटक साम्राज्ञी हिट वा फ्लप हुने हो यो बारे अब केहि दिनमा थहा हुने नै छ । सृष्टिको दोस्रो फिल्म ‘रोमियो एण्ड मुना’ चलेन । यसकारण दुबै अभिनेत्रीका लागि आ-आफ्नो फिल्मको नतिजा सुखद आउन अत्यन्त आवश्यक छ ।


















