विचौलियाले मनपरी मुल्य

111

तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का नवराज रावतले कृषि पेशा अँगालेको धेरै भइसक्यो । तर विचौलियाका कारण उनले सोचजति कृषि पेशाबाट फाइदा लिन सकेका छैनन् ।

‘दु:ख गरेर खेति गर्यो वजारमा वेच्न लैजाने वेलामा मुल्य नहुँदा निराश हुुनपर्दछ’ उनले विचौलियाका कारण मुल्य पाउन नसकेको गुनासो राखे । तुलसीपुर उपमहानगरपालिकाले कृषकहरुसँग गरेको अन्तक्र्रिया कार्यक्रम वोल्दै रावतले उपमहानगरपालिकाले कृषि उपज वस्तुहरुको मूल्य निर्धारण गर्नुपर्ने कुरामा जोड दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मुलकोटका अर्का कृषक रुपवहादुर पुनले कृषकहरुलाई कृषि परिचय पत्र तत्काल वितरण गर्नुका साथै किसानमैत्री कार्यक्रम वनाएर किसानलाई आत्मनिर्भर वनाउनेतर्फ ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

अर्का कृषक वडा नम्वर १८ का कृषक नरवहादुर केसीले अनुगमनलाई पारदर्शी वनाउने कुरामा ध्यान दिनुपर्ने वताएका थिए । दुग्धपालक कृषक केसीले दुध उत्पादनमा कृषकहरुलाई अनुदान दिदा उत्पादनका आधारमा दिनुपर्ने जनाए । उनले कृषकहरुको उपज उचित मूल्यमा विक्री गर्ने वातावरण तय गर्नका लागि उपमहानगरपालिकाले भुमिका खेल्नुपर्ने कुरामा जोड दिएका थिए ।

अर्का कृषक शशी वुढाथोकीले कृषिमा अनुदान मात्रै दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने जनाउँदै कृषकहरुलाई आधुनिक प्रविधिसँग जोडेर लैजानुपर्ने जनाए ।

अर्का कृषक देवराज भण्डारीले उत्पादनलाई वजारीकरण गर्नका लागि ध्यान दिनुपर्ने जनाउँदै उत्पादनलाई संकलन गर्नका लागि कोल्ड स्टोरको व्यवस्था समेत गर्नुपर्ने कुरामा जोड दिए ।

कृषकहरुका समस्या सुनिसकेपछि कार्यवाहक प्रमुख माया शर्माले किसानहरुलाई पहिचान दिनका लागि उपमहानगरपालिकाले कृषि परिचयपत्र लागु गर्न लागेको वताए । कृषकहरुलाई व्यवसायी वनाउनका लागि विउ विजन वितरणसँगै आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन दिइने पनि उनले जनाइन् ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख तिलक केसीले कृषकहरुका लागि उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याएको भन्दै किसानहरुलाई व्यावसायिक बनाउनका लागि उपमहानगरपालिकाले जुनसुकै काम गर्न पनि तयार रहेको जनाए ।

पशु शाखा कार्यालयका प्रमुख सुदाम भट्टले पशुपालक किसानहरुलाई विभिन्न समयमा तालिमका साथै औषधि उपचारको व्यवस्था गरिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here