डोटीका कैदीबन्दी प्लाष्टिकमुनि रात बिताउँन बाध्य

424

डोटी । राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भए पछि डोटीका कैदीबन्दी प्लाष्टिकको छानामुनि रात बिताउन बाध्य भएका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको जनाउनु भएको छ । सुवेदीले भन्नुभो–‘भवन पुरानो छ बेलाबेलामा पानी पर्दा चुहिन्छ, मर्मतका लागि हामीले बजेट माग गरेका छौँ बजेट आएपछि मर्मत हुन्छ ।’

सरकारले जीर्ण भएको डोटी कारागार टालटुल गरे पनि पानी चुहिने नरोकिँदा कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् । डोटी कारागारका छानामा राणाकालमा लगाइएका सिलेट पनि खिइएर झर्न थालेको कैदीहरुको भनाई छ ।

उनीहरु भन्छन्–‘दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, त्यही पनि सामान्य हुरी चल्दासमेत सिलेट खस्न सक्ने अवस्थामा छन् । सिलेट खसेर कस्को टाउकोमा लाग्छ र को मर्छन् भन्ने चिन्ताले हामीलाई पिरोली रहन्छ ।’ पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीको भनाई छ ।

त्यस्तै आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मत सम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख राजन केसीले जनाउनु भएको छ । भवन निकै पुरानो भएकाले छत चुहिने र छानाका सिलेट खस्ने सम्भावना भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो भएको कुरा कारागार प्रमुख केसीले जानकारी दिनु भयो ।

हालसम्म पनि मागअनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार मर्मत हुन नसकेको कर्मचारीको भनाई छ । डोटी कारागारमा पुरुष कैदीबन्दी ४३ र महिला कैदीबन्दी चार गरी हाल कूल ४७ जना रहेका छन् । पच्चीस मात्र कैदीबन्दीको क्षमता रहेको उक्त कारागारमा क्षमताभन्दा बढी कैदी राखिँदा झन समस्या भएको कर्मचारीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here