भीमदत्तनगर । सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका हुन् ।
नदीमा आएको बाढी गाउँ पस्दा बस्ती जलमग्न भए पनि मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले जोगबुढा नदीले कटान थाल्दा महाकाली नगरपालिका–१० कुतियाकवर जाने झोलुङ्गे पुल खतरामा परेको पनि जानकारी दिनुभएको छ । नदीको कटानले गर्दा जोगबुढा नदीमा रहेको झोलुङ्गे पुल खतरामा परेको हो । प्रहरी निरीक्षक चन्दका अनुसार पुल जोगाउन स्थानीय र सुरक्षा निकाय लागिपरेका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर पुल जोगाउन अस्थायी तटबन्ध निर्माणमा लागेका छन् । यसअघि पनि सुन्दरनगर, कुतियाकवर क्षेत्र बाढीका कारण डुबानमा परेका थिए ।

















