नेपाली बालबालिकाको उद्धार गर्ने अमेरिकी ओल्गा मुरेको निधन

40

काठमाडाैं । अमेरिकाबाट नेपाल आएर दु:खमा परेका बालबालिकाको उद्धार र शिक्षादीक्षामा सहयोग गरेकी अमेरिकी नागरिक ओल्गा मुरेको निधन भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ९८ वर्षको उमेरमा गत फेब्रुअरी २० मा अमेरिकाको क्यालिफोर्नियामा उनको निधन भएको हो। तर त्यसको एक सातापछि मात्र उनको निधनको खबर सार्वजनिक भएको हो।
नेपाल आएका बेला उनले सन् १९९० मा कमलरी बालिकाको उद्धार गर्न ‘नेपाल युथ फाउन्डेसन स्थापना गरेकी थिइन्। यसले अहिलेसम्म झण्डै सय वटा पोषणकेन्द्र निर्माण गरी ५० हजारभन्दा धेरै बालबालिकालाई शिक्षित बनाउन मद्दत गरेको बताइएको छ।

सन् १९८४ मा भारत हुँदै ओल्गा मुरे नेपाल आएकी थिइन्।

मुरेले एउटा अन्तर्वार्तामा भनेकी थिइन्, ‘जब म नेपाल पुगेँ, तब म यो देशसँग प्रेममा परेँ। बालबालिकाहरूले मेरो हात समाते। उनीहरू स्कुल जान चाहन्थे। तर उनीहरू स्कुल जान पाएका थिएनन्।’

हंगेरीमा जन्मिएकी मुरेले सन् १९४९ मा कोलम्बिया विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी थिइन्। उनी ६ वर्षको उमेरमा सन् १९३१ मा परिवारसँगै अमेरिका सरेकी थिइन्।

पहिलोपटक सन् १९८४ मा नेपाल गएकी उनी त्यसयता दर्जनौँपटक आएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here