काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गरेको जनाएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब रुपैयाँभन्दा बढी सटही प्रयोजनका लागि निष्काशन गरेको जनाएका हुन् ।
गत वर्ष १२ अर्ब रुपैयाँ जति निष्काशन गरेकोमा यसवर्ष १३ अर्ब रुपैयाँ भन्दा बढी रहने उनले जानकारी दिएका छन् । नेपाल राष्ट्र बैंक थापाथली, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका काठमाडौंमा रहेका विभिन्न ठाउँका झण्डै १६ शाखा मार्फत नयाँ नोट सर्वसाधारणले साट्न पाउनेछन् ।
सर्वसाधारणलाई वितरण गरिने सो रकम बैंकले १२ गते शुक्रबार देखि पाउँनेछन् । सर्वसाधारणले भने २१ गतेसम्म कुर्नुपर्नेछ जनाइएको छ ।
काठमाडौं बाहिरबाट पनि सरकारी नोटकोष भएको बैंकबाट नयाँ नोट वितरण गरिने निरौलाको भनाई छ । प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी रहेको छ ।


















