काठमाडौं/ सरकारले अब घरको कम्पाउण्डमा पनि कर लगाउने तयारी गर्दैछ । अर्थमन्त्री युवराज खतिवडाले अब शहरी इलाकामा घरको कम्पाउण्ड बनाएर जमिन ओगट्ने अनि कृषियोग्य जमिन सरह मालपोत तिर्ने गरेको उल्लेख गर्दै घरको कम्पाउण्डमा पनि कर लगाउने जनाएका छन् ।
सोमबार मध्यमस्तरीय कर कार्यालयको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले भने- ‘अब घरको कम्पाउन्ड पनि कर लगाउँछौं ।’
‘घरको कम्पाउन्ड बनाएर स्पेकुलेशन गरेर मूल्य बढाएर बेचौंला भनेर राखिएको छ, अनि मेरो सम्पत्ति होइन, मालपोत मात्रै तिर्छु भनिएको छ, यसमा हामीले मिलाउनु पर्नेछ,’ खतिवडाले भने, ‘मालपोत मात्रै तिर्ने जमिन हो भने खेती नै गरिएको हुनुपर्यो । पारिवारिक प्रयोगमा आएको हुनुपर्यो ।’
व्यावसायिकरुपमा प्रयोग गरिएको वा गर्न खोजिएको छ भने त्यही अनुसारको कर तिर्नुपर्ने उनको भनाइ छ ।
‘यो सामान्य जमिन हो भनेर मालपोत मात्रै तिर्छु भनेर अब धेरै लामो समयसम्म बस्न पाइँदैन, भलै हामीले यसपटक त्यसमा केही कम्प्रमाइज गरेका छौं, यसलाई म कम्प्रमाइज भन्ने शब्द प्रयोग गर्न चाहन्छु,’ खतिवडाले भने– ‘किनभने अहिले कर तिर्ने बानीको विकास गर्दै लानुपर्छ भनेर हामीले पहिल्यै वर्षमा करको दायरा विस्तारै गर्दै जाऔंला भनेर पर्खेको मात्रै हो ।’
शहरी क्षेत्रको सम्पत्ति ओगटेर बस्ने मात्रै होइन, आफ्नो सम्पत्तिको व्यवस्थापन पनि गर्न सिक्नुपर्ने खतिवडाले जनाउँदै त्यसरी ओगटेर राखिएको जमिनबाट आय आर्जन कसरी गर्ने, त्यसबाट कसरी प्रतिफल निकाल्ने भनेर सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो ।
‘कम्पाउण्डका नाममा जमिन बाँझो राखिदिएको छ, न कृषि उत्पादन हुन पाउँछ, न अन्य व्यवसाय हुन पाउँछ, अनि राज्यले ५०/६० रुपैयाँ मालपोत लिएर कसरी विकास गर्छ ?’ प्रश्न गर्दै खतिवडाले भने- ‘त्यो प्राकृतिक स्रोत पनि त एउटा राजस्वको आधार हो नि । यो विषयमा हामी गंभीर छलफल गर्दैछौं ।’
कहिल्यै कर नतिरेकाहरुलाई, कहिल्यै करको दायरामा नआएकाहरुलाई अहिले कर तिर्नुपर्यो भनेर छटपटी भएको उनको भनाइ थियो । ‘कर भनेको कहिल्यै नसुनेको र नजानेकालाई नगरपालिकामा जाँदा यति भन्दिन्छ, अनि हच्कियो,’ उनले भने, ‘सरकारका कारण आफ्नो सम्पत्तिको मूल्य बढ्छ भने त्यसको कर तिर्नुपर्दैन ?’

















