अमेरिकाले वमबर्षक विमान उडाएको केही दिनपछि त्यसको आलोचना गर्दै चीनले उत्तेजना फैलाउने मनसायस्वरुप यस्तो गतिविधि भएको टिप्पणी गरेको छ ।
दुई विश्व शक्ति राष्ट्रबीच कर वृद्धिलाई लिएर व्यापार युद्ध चलिरहेका बेला अमेरिकी बी–५२ नामक वमबर्षक विमान साउथ चाइना सी र इस्ट चाइना सीमामा उडाएर अमेरिकाले उत्तेजना फैलाउन खोजेको छ’, चिनियाँ रक्षा मन्त्रालयले बिहीबार त्यसको आलोचना गर्दै भनेको छ ।
उडानका विषयलाई लिएर अमेरिकी रक्षा केन्द्र पेन्टागनले बुधबार इस्ट चाइना सीमा भएको आफ्ना वमबर्षक विमानको उडान जापानसँगको संयुक्त अभ्यास भएको र यसको एक दिन पहिले अन्तर्राष्ट्रिय हवाई मार्गको प्रयोग गरी उडेको जनाएको छ ।
चीनले साउथ सी क्षेत्रमा रणनीतिक जलमार्गलाई आफ्नो दावी गर्दै टापूहरूको श्रृंखला तथा सामुद्रिक तटको निर्माण गरेको छ । जसलाई उसले सैनिक प्रयोजनका लागि प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
ब्रुनई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले पनि उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् । साथै उक्त क्षेत्रलाई सन् २०१६ मा अन्तर्राष्ट्रिय सामुद्रिक न्यायाधिकरणका रूपमा घोषणा गरिएको थियो । तर चीनले यसमा कुनै कानूनी आधार नरहेको जनाउँदै आएको छ ।
अमेरिकाले चीनको उक्त क्षेत्रमाथिको दावीलाई अस्वीकार गर्दै अन्तराष्ट्रिय कानून अनुसार हुनेगरी सैनिक उडान जहाजलाई सञ्चालन गरिने जनाइएको छ ।


















