काठमाडौं/ नर्भिक इन्टरनेशनल हस्पिटलले १०० शैयायुक्त १,००,००० वर्गफिटको नयाँ भवन थप्ने र हस्पिटललाई दक्षिण–पूर्वी एशियाकै सर्वेत्कृष्ट मध्येको एक बनाउने उद्घोष गरेको छ ।
उक्त घोषणा नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले विश्व मुटु दिवस २०१८ समारोहलाई सम्बोधन गर्ने क्रममा गर्नुभएको हो । सो सँगै नर्भिकले छिट्टै अति विशिष्ट कार्य सेवा (Cryo Services)लगायत छुट्टै कोलो–रेक्टल शल्यक्रिया सेवा पनि सुरुगर्ने भएको छ । समारोहमा विकट स्थानहरुमा र आपतकालीन अवस्थामा प्रयोग हुने हेली रेस्क्यु टोली गठनको जानकारी समेत गराइएको थियो ।
समारोहका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री डा. यादवले नेपाली स्वास्थ्यसेवाका क्षेत्रमा परिवर्तन आवश्यक भएको, सरकारले निःशुल्क उपलब्ध गराइरहेको डायलाइसिस लगायतका सेवाहरु निजीमा पनि विस्तार गनुपर्ने र नेपाली स्वास्थ्य सेवाको स्तरलाई उकास्न निजी क्षेत्रका हस्पिटलहरुसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यक रहेको जनाउनुभयो ।
उक्त समारोहमा सभापतिको आसनबाट बोल्दै नर्भिकका अध्यक्ष बसन्त चौधरीले प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री डा. यादवको निजी हस्पिटलहरुलाई पनि स्वास्थ्य मन्त्रालयकै परिवारिक सदस्यका रुपमा व्यवहार गरिने र तिनलाई सरकारको सम्पत्तिका रुपमा हेरिने प्रतिबद्वत्ताको खुलेर प्रशंसा गरे ।
सो अवसरमा १०० शटयायुक्त अति विशिष्ट नयाँ भवन बनाई नर्भिकलाई दक्षिण–पूर्वी एशियाकै सर्वोत्कृष्ट मध्यको एक हस्पिटल बनाउने प्रतिबद्धता पनि चौधरीले गरे ।
नर्भिकले विविध कार्यक्रमका साथ शनिबार यस वर्षको विश्व मुटु दिवस मनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १३ गते शनिबारका दिन अर्थात् आजैका दिन पर्न गएको छ । विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारीख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले झण्डै २ दशकलाई स्पर्श गर्न गइरहेको छ ।
विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु/गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ । सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ पनि मानिसहरु यसको चपेटामा पर्दैआएका छन् र मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् । अझ हालै आएर विकासोन्मुख राष्ट्रहरूमा हाल विश्वमा १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् ।
नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् । विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षा मूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रमहरू गर्ने गरिन्छ । यस वर्षको विश्व मुटु दिवसको नारा ‘मेरो मुटुः तपाईको मुटु ‘ रहेको छ । यसले मानव जीवनका लागि मुटुको महत्व कति छ भन्ने दर्साउँछ ।
नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब २०० जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । कार्यक्रमको प्रमुख आतिथ्य माननीय स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गर्नुभएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्ट, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल लगाएतका वक्ताहरुले मुटुरोगका विविध विषयहरुमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै प्रा. डा. यादवदेव भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै ‘इन्टेन्सिभ केयर स्पेशलिष्ट’ को सेवा थप्ने, चिकित्सा सेवामा चिकित्सकहरूको समूहगत दृष्टिकोण अपनाइने र बिरामीको समग्र व्यवस्थापनका लागि एकै स्थानमा सम्पूर्ण समाधान दिइने रणनीति अपनाएको जनाउनुभयो ।
प्रा.डा. यादवदेव भट्टले नर्भिकको मुटुरोग विभागलाई नेपाली जनताको उच्चतम् सेवाका खातिर नयाँ उचाईमा पु¥याउने योजना पनि प्रस्तुत गर्नुभयो । हृदयाघातपश्चात् बिरामीको ज्यान बचाउन गरिने एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपका लागि अमेरिकन कार्डियाक एशोसियनले निर्धारित गरेको (प्रक्रिया सकेर बिरामी शय्यामा सार्ने) समय ९० मिनेट तोकेको छ भने नर्भिकको उक्त समय (धेरैजसो केसहरूमा) केवल ६० मिनेट मात्रै रहेकोले नर्भिकको स्तर युरोपेली र अमेरिकी सरह भएको उहाँले जनाउनुभयो ।
समारोहमा नर्भिकका चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवालले विरामीहरु मात्रै नभएर स्वस्थ व्यक्तिले समेत स्वस्थकर भोजन र उपयुक्त जीवनशैली अपनाउनुपर्ने विषयमा प्रकाश पार्नुभयो । गत वर्ष नर्भिकमा जटिल मुटुरोगको उपचार गराउने करिब २०० जना बिरामीहरूमध्येका प्रा. रत्नमान डंगोल र पूर्व बाणिज्य सचिव डा. श्री शङ्करकृष्ण मल्लले नर्भिकमा आफूले उपचार गराउँदाका प्रशंसनीय अनुभवहरू सुनाउनुभयो । नर्भिकको सेवा÷सुविधा एवम् प्रविधिबाट आफू र आफ्नो परिवार प्रभावित रहेको उहाँलहरुले जनाउनुभयो ।
सम्मानीत हुनेहरूमा बयोबृद्ध बिरामीहरू र उत्कृष्ट कर्मचारीहरू समेत थिए । नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लाष्टी, प्राइमरी एन्जियोप्लाष्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लाष्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (वाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका करिब २०० जना बिरामीहरु मध्ये १० जना जेष्ठ नागरिकहरूलाई प्रमुख अतिथिले सो अवसरमा सम्मान गर्नुभएको थियो ।
यस वर्षको विश्व मुटु दिवसका अवसरमा पनि नर्भिकल ‘विशेष मुटु जाँच योजना’ नामक एक विशेष मुटुजाँच कार्यक्रमको तय गरेको थियो । उक्त जाँच कार्यक्रम अन्तर्गत विशेषज्ञबाट निशुल्क जाँचका साथ निदानात्मक जाँचहरु र परामर्श सेवा रहेका थिए ।





















