काठमाडौँ, १५ असोज । महानगरीय प्रहरी परिसर काठमाडौँले नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर काठमाडौमा साढे तीन हजार प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौ प्रहरी प्रमुख वसन्त लामाले आइतबार सुरक्षा योजना सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो तथा व्यवस्थित बनाउने उद्देश्यले कार्ययोजना सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
चाड पर्वका अवसरमा हुनसक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री वितरण, तस्करी, ट्राफिक दुर्घटना, महिला हिंसालगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न विशेष सक्रियता अपनाइने उनले जानकारी दिए ।
नागरिकको घर सम्पत्ति रहेको स्थान, महत्वपूर्ण प्रतिष्ठान, मठमन्दिर, गुम्बा रहेको स्थान, वित्तीय संस्था एवं आर्थिक कारोवार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोवार हुने स्थानमा सुरक्षाकर्मी परिचालित हुनेछन् ।
यस्तै सरकारी कार्यालय, काठमाडौँ प्रवेश गर्ने नाका, होटेल, गेष्ट हाउस तथा रेष्टुरेन्ट, आपराधिक गतिविधि हुने स्थान, राजमार्ग तथा ग्रामीण बस्ती तथा विशिष्ट व्यक्तिको गतिविधि हुने स्थानमा कम सुरक्षाकर्मी परिचालित हुनेछन् ।

















