अपराधी नसमातिन पनि सक्छ, किनकि अपराधमा सरकार सामेल छैन !

127

 चन्द्रप्रकाश बानियाँ
बर्खे संसद विधिवत स्थगित भैसकेको छ । संसदले जनताको हितमा कति काम ग¥यो वा गरेन भन्ने कुराबाट देश बेखबर छ । संसदीय गतिविधिको सम्बन्धमा आम जनताले सरोकार नै राख्दैनन् । न संसदको आह्वान हुँदा जनताले संसदभवनतिर आशावादी नजरले हेर्छन् न त्यसको स्थगनमै कुनै चासो र रुचि देखाउँछन् । जनताका लागि संसद आकर्षकणको विषय बन्नै सकेको छैन । कहिलेकहीँ तोडफोड वा हिंसात्मक घटना भयो भने देशको ध्यान तानिन्छ । नत्र अघिपछि जनता संसदनिरपेक्ष रहने गर्छ । संसद कहिले सुरु भयो र कहिले स्थगित भयो भन्ने कुराको हेक्का जनतालाई रहँदैन । यसपटक पुरै पाँच महिना चलनेर संसद स्थगित भयो । संसद स्थगित भए नभएको जनताले हेक्का राख्दैनथे तर यसपटक संसदको अन्तिम दिन रोष्टमबाट गाइएको गीतको गुञ्जन भने जनतासम्म आइपुग्यो । गीतगुञ्जनबाट खासगरेर नयाँ पार्टी नेकपा निकै तरङ्गित भएजस्तो देखिन्छ । उसो त लोकगीत गाएर संसदभवन घन्काउने सांसद लोकपरिचित गायिका कोमल वली थिइनन् । यसपटक नम्बरतीन नेताले गीत गाउन रोष्टमको उपयोग गरेका हुन् । स्वभावतः उनको गीत कर्णप्रिय हुनु थिएन, भएन । मिठो स्वरका धनी नभएको मात्र होइन, मिठो सम्भाषणकर्ताको कोटिमा पनि गायक महोदयको गणना हुदैन । उनी कामचलाउ वक्ता मात्र हुन् । त्यसैले उनको स्वर संसदभवनमै हरायो । अब्बलमा नेकपा पार्टीभित्र सिमित भयो । धुम्वाराहीको कार्यालयसम्म पनि पुगेजस्तो लाग्दैन । उनको गीतको तीखो ध्वनी संसदभवन, वालुवाटार हुँदै सोझै न्युयोर्कसम्म पुग्यो । उताबाट प्रत्युत्तरसमेत “आयो रे” भन्ने सुनिदैछ । दोहोरी गीतको प्रभाव रोदीघरको प्राङ्गणसम्म भनेजस्तो गाउनेले गाए, सुन्ने सुने । त्यसभन्दा उता थप तमाशा हेर्ने अवसर मिल्ला भनेर आशा गर्नु पर्दैन । बरु प्रतिपक्षदलमा सम्म आशाको किञ्चित सञ्चार हुन सक्छ । तर त्यसको पनि उति धेरै सम्भावना छैन । आन्तरिक कचिङ्गलको परिणाम व्यक्ति परिवर्तन हुनसक्छ, सरकार परिवर्तन हुँदैन । अर्थात सरकारको गठनविघटनबाट प्रतिपक्ष लाभान्वित हुने सम्भावना छैन ।

गलत बाटो समात्यो भने बलियो सरकार देशको लागि घातक हुन पनि सक्छ भनिन्छ । त्यही मनोविज्ञानबाट ग्रसित भएकोले देशको पहिलो प्रजातान्त्रिक शक्ति नेपाली काँग्रेस सधै संसदीय व्यवस्थाको पक्षमा उभिने गरेको हो । अर्थात नेपाली काँग्रेस बलियो सरकारको पक्षमा छैन । सरकारको पक्षमा दुईतीहाई बहुमत जुटेको हुनाले देशमा अधिनायकवाद लादिने पो हो कि भनेर सधै त्रसित रहन्छ र “बाघ आयो, बाघ आयो” भनेर सपना विपनामा आर्तनाद गर्दै रहन्छ । जोरजामकै भए पनि वर्तमान सरकारसँग संसदको दुईतीहाई मत सुरक्षित छ । दुईतीहाईको संसदीय शक्तिले व्यवस्था उल्ट्याउनेसमेत तागत राख्दछ । परिवर्तनको विपक्षमा उभिने तत्कालीन एमाले नानीदेखि लागेको वानी हो । त्यसैले निर्माणकालदेखि नै संविधान संशोधनको विपक्षमा रहँदै आएको थियो । सामान्य बहुमतका लागि उसले नेकपा माकेसँग पार्टी एकीकरण गर्नु स्वाभाविक मानिएको थियो । तर संविधान संशोधनको आवश्यकता नदेख्ने त्यही दललाई कुन स्वार्थका लागि दुईतीहाई पु¥याउने अभियानतिर अभिप्रेरित ग¥यो भन्ने कुरा रहस्यकै विषय थियो । यतिखेर संसदमा गुञ्जिएको गीतबाट भने त्यसको कारणको खुलासा भएजस्तो देखिएको छ । अर्थात दुई पार्टी मिलेर संसदमा स्पष्ट बहुमत पुगे पनि अन्तरपार्टी विग्रहको सम्भावना प्रबल रहेछ र जुनसुकै दिन सरकार ढल्ने खतरा विद्यमान रहेछ । अन्तरपार्टी असन्तुष्टिको असरलाई कमजोर बनाउनका निमित्त त्यस्तो कसरत गरिएको रहेछ भन्ने कुराको खुलासा भएको छ । पार्टीको नभए पनि गुटको सत्ता जुनसुकै बेला खतरामा पर्ने सम्भावना रोक्नका लागि मात्र दुईतीहाई बहुमत जुटाइएको रहेछ ।

 

खडेरीको याममा आकाशमा सुखा बादल देखियो भने पनि वर्षाको आशा गरिन्छ । नेकपाको एकमना बहुमतको सरकार गठन हुँदा नेपाली जनतामा त्यस्तै आशा पलाएको थियो । सायद नेपाली जनताको त्यो आशा अपेक्षा तथ्यसँगत थिएन । किनकि सरकार नयाँ भए पनि सरकार चलाउनेहरू अपरीक्षित थिएनन् । दिव्य दुईदशकको परीक्षणबाट असफल भैसकेका पात्रहरू नयाँ रूपरङ्गमा मञ्चासिन भएका थिए । स्वभावतः सरकारले आफ्नो असली रङ्गको सार्वजनिक प्रदर्शन गर्न किञ्चित ढिलाई गर्दैगरेन । निलो रङ्गमा रङ्गिएको स्यालको रहस्यबाट पर्दा उठ्न धेरै समय लाग्ने कुरै थिएन । शासनको सुरुवातमै आफूलाई एकनम्बरको ढाँट सावित गर्न लाज मानेन । चाँडै नै पूर्ववर्ती सरकारहरूको तालमा ताल र स्वरमा स्वर मिलाएर आफ्नो असली परिचय सार्वजनिक गरिदियो । जनतासँग पछुताउनृुको विकल्प थिएन । सरकारसँग देशलाई उन्नतिप्रगतितिर डो¥याउने न नयाँ कार्यक्रम थियो न सोच ? नक्कली राष्ट्रवादको मुकुण्डो समेत उत्रिएपछि सरकारप्रतिको आकर्षण सम्पूर्णतः समाप्त हुने नै भयोे ।

 

जनताले सरकारबाट पूरै आशा मारिसकेको छ । सम्भावना क्षीण हुँदै गएपछि बोल्नुको पनि कुनै अर्थ रहँदो रहेनछ । त्यसैले सरकारको पक्ष विपक्षमा अभिव्यक्त हुन पनि छोडेको छ । पाँचवर्ष हातगोडा बाँधेर बस्नुको विकल्प छैन । मुख खोल्नुको पनि अर्थ रहेन । हलेदो भन्ने स्पष्ट भैसकेपछि किन कोट्याउने नादानी गर्नु ? अकस्मात संसदमा सरकारविरुद्ध आवाज घन्किँदा पनि जनतामा कुनै आशाको सञ्चार गर्न सकेको देखिदैन । देश डुब्न लागेको चेत पलाएर संसदमा माझीको गीत घन्किएको हो भन्ने कुरामा जनतालाई विश्वास छैन । त्यो त बलियो कुकुर देखेर भुस्याहा कुकुर भुकेजस्तै हो । उसको भुकाई स्वयम आफू असुरक्षित भएको अनुभूति हो । अरुको रक्षा वा उद्धारको सदाशय होइन । मौका परे भुस्याहा कुकुरले मानिसमाथि झम्टने अवसर गुमाउँदैन । उसको टोकाईको अनुभव जनतासँग सुरक्षित छ । एउटा नयाँ कुरा भने संसदीय गतिविधिमा देखिएकै हो भनेर मान्नुपर्छ । सामान्यतः संसदमा जनताको आवाज पुग्दैन । प्रतिपक्षका आँखा सरकारको गल्ती कमजोरी खोज्नमै व्यस्त हुन्छन् । सत्तारुढ पार्टीका सांसदहरूलाई सरकारको भजन गाउनका लागि संसदीय ह्विप लगाइएको हुन्छ । बरु रमाइलोका लागि असंदीय शब्दावलीको प्रयोग गरेर हाँसो ठट्टा गर्ने छुट हुन्छ तर सरकारको विरुद्ध बोल्न प्रतिवन्ध लागेको हुन्छ । तर यसपटक सत्तारुढ पंक्तिबाटै सरकारको नालायकीको बखान सुनियो । उनीहरूको चेष्टालाई प्रशंसनीय मान्नै पर्छ ।

 

यो बर्ष गाईजात्राको अवसरमा प्रदर्शन हुने हाँस्यव्यङ्गय कार्यक्रमहरू उति साह्रो जनआकार्षणको विषय बनेनन् रे भनिन्छ । कार्यक्रम घाटामा गएको गुनासो सम्बन्धित क्षेत्रबाट सुनिन थालेको छ । त्यसको कारण भने सरकार हो भन्ने दावी गरिन थालेको छ । सरकार प्रमुखको मुखारविन्दबाट दिनदिनैजस्तो नयाँ नयाँ उखानटुक्काहरू सुन्न पाइन्छ । सरकारप्रमुखको चेष्टाले हाँस्यकलाकारहरूको व्यवशाय चौपट बनाइदिएको हो भन्ने मान्यता स्थापित भएको छ । टिभि, रेडियो र सार्वजनिक समारोहबाट निशुल्क मनोरञ्जन प्राप्त हुने भएपछि पैसो खर्च गरेर को आयोजनास्थलसम्म पुगोस त ?! नेपाली हाँस्यव्यङ्गय नेपाली राजनीतिको अनुकरण गरेरै बाँचेको थियो । आफै राजनीति मञ्चमा अग्रसर भैदिए पछि प्रतिकृतिको आकर्षण स्वतः हराउने नै भो । सक्कली दृश्य उपलब्ध भएपछि नक्कलीको पछि जनता कुद्ने प्रश्नै उठेन ! विचरा, हाँस्य कलाकारहरू वेरोजगार भए । सम्भवतः उनीलाई नेपालीहरूको खाडीतिर लर्कोलाग्ने नियतिले तानेको पो हो कि ? सरकार आम नेपाली जनताको त हुन सकेन सकेन, हाँस्यकलाकारहरूको पनि रहेन ।

 

सरकारको चिन्तन, सोच र अभिव्यक्तिमा आश्चर्यजनक निरन्तरता रहेको छ । झण्डै छ महिना अगाडि काठमाडौंको सडकगल्लीहरूको दुरावस्थाको जनगुनासोलाई सम्बोधन गर्ने सन्दर्भमा सरकारप्रमुखबाट आएको अभिव्यक्ति थियोः–“काठमाडौंका सडकमा खाल्डाखुल्डी बनाएको सरकारले होइन !” कुरो सत्य थियो । सडक बिगारेको सरकारले होइन । सरकार त आकाशमार्गबाट विचरण गर्न सक्छ । सडकमा हिड्ने जनता नै हुन् । सडक बिगारेको सडकगस्ती गर्नेहरूले नै हो । बिगार्ने जनता, मर्मत सम्भार सरकारले किन गर्नुपर्ने ? गरेन । सडक उस्तै होइन, अझ दुर्दशाग्रस्त बनेका छन् । सरकार कानमा रुई र कोचेर बसेको छ । दुई महिना अगाडि कञ्चनपुरमा निर्मलाकाण्ड घट्यो । सरकारप्रमुखबाट उही पुरानै शैलीको जवाफ सार्वजनिक भयोः–“निर्मलाको बलात्कार र हत्या सरकारले गरेको होइन !” प्रधानमन्त्रीको दिव्यवाणीमा दायित्वबोधको नितान्त अभाव हुनसक्छ तर असत्यचाहीँ होइन । किनकि निर्मलाको हत्या बलात्कार सरकारले गरेको होइन । नभएको कुरालाई हो भन्न मिलेन । काकतालीबस फन्दामा परे परिहाल्ला, कमसेकम सरकारले अपराधीलाई चौखु¥याउने चासोे लिने छैन । किनकि अपराध सरकारले गरेको होइन !

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here