रोल्पा / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले चन्दा माग्ने, कुटपिट गर्ने र राजीनामा दिन दबाव दिने गरेको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। ती गतिविधि विगतको माओवादी विद्रोहको झल्को दिने खालका देखिन्छन्।
त्यहाँका जनप्रतिनिधिहरूका अनुसार विगतमा हतियार लिएर सँगै लडेकाहरूले नै निर्वाचित जनप्रतिनिधिलाई तारो बनाउदै चन्दा माग्नेदेखि लिएर पद छाड्ने सम्मका दबाव दिँदै आएको जनाइएको छ ।
विगतमा माओवादी लडाकु रहेका वीरबहादुर खत्री अध्यक्ष निर्वाचित भएपछि ‘कथित जनप्रतिनिधि’ भनेर सम्बोधन गरिएको एउटा पत्र उनलाई आयो। त्यसमा उनलाई पद त्याग्न दबाव दिइएको थियो।
खत्रीका अनुसार सो पत्र लिएर उनकै एक पूर्वसहकर्मी आएका थिए। उनी भन्छन्, ‘कथित अध्यक्ष भनेर लेखेको पत्र दिए, ‘कथित काटेर लैजाऊ’ भनेँ। अहिले उनीहरूले मलाई दबाब दिएका छन्। पहिले पनि युद्ध लडेको मान्छे म । मलाई नै कारबाही गर्ने भनेर हल्ला चलाइएको छ। सदरमुकाममा सुरक्षाका सबै निकाय छन्, तर गाउँमा छैनन्। उनीहरूले मान्छे कुट्ने काम गरिरहेका छन्, चन्दा मागिरहेका छन्।’
रोल्पाको माडी गाउँपालिकाको अवस्था पनि त्यस्तै छ। त्यहाँका एक जनप्रतिनिधिलाई भ्रष्टाचारमा संलग्न भएको भनी चन्दको पार्टीले बनाएको ‘जनसरकारले कारबाहीसमेत गरेको गाउँपालिकाका उपाध्यक्ष धनीकला घर्ती बुढामगर जनाउँछिन् ।
विगतको माओवादी विद्रोहकै झल्को दिने खालका यस्ता गतिविधिले जिल्ला सदरमुकाम लिवाङलाई अहिलेसम्म नछोए पनि गाउँमा भने एक प्रकारले सम्भावित त्रासको प्रतीक्षा गरेजस्तो अवस्था देखिएको छ।


















