काठमाडौँ, २० असोज । कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक घरमा प्रहरीले छामा मार्दा भवनको तेस्रो तल्लाबाट हाम फाल्ने क्रममा दुई जनाको मृत्यु भएको छ । हाम फालेर घाइते भएका दुई जनाको शुक्रबार राती ललितपुरको बि एण्ड बी अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा स्थानीय ४१ वर्षीय सरोज घले र सिन्धुपाल्चोक भोटेचौर निवासी सुमन लामाको मृत्यु भएको हो ।
प्रहरीले जुवाखालबाट एक महिलासहित २३ जनालाई पक्राउ गर्नाका साथै रु चार लाख ५८ हजार र केही थान सुनका गरगहना बरामद गरेको जनाएको छ । उक्त स्थानबाट केही खुकुरी र मोटरसाइकलका साथै जुवा खेलाउन प्रयोग गरिने केही सामग्री समेत बरामद गरिएको छ ।
















