काठमाडौँ, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बिहान बस्दै छ । आइतबार साँझ बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण स्थगित भएको हो ।
बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । बैठकले एकता प्रक्रियालाई थप सार्थक बनाई सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ । केही दिन पहिले बसेको सचिवालयको बैठकले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तय गरेको थियो । सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएपछि नेकपामा विवाद चुलिँदै गएको छ । नेकपामा आधिकारीक निर्णय गर्ने वैधानिक निकायका रुपमा स्थायी समितिलाई लिइन्छ भने सचिवालयलाई प्रशासनिक काम गर्ने निकायका रुपमा हेर्ने गरिन्छ ।


















