काठमाडौं/ नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ ।
आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाउनुभयो । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औँ महाधिवेशनदेखि कायम छ ।
नेविसङ्घमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुङ्गिएसँगै सङ्घको १२औँ महाधिवेशन गर्ने बाटो खुलेको छ । नेविसङ्घको वर्तमान कार्यसमितिको कार्यकाल गत भदौमा समाप्त भई तीन महीना समयावधि थपिएको छ । काङ्ग्रेसमा संस्थापन पक्षको कायम राख्नुपर्ने र संस्थापन इतर पक्षको उमेर सम्बन्धी सो व्यवस्था हटाउनुपर्छ भन्ने अडान थियो ।
बैठकले सङ्घको विधानको उक्त व्यवस्था पारित गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताले निर्णयप्रति असहमति जनाउनुभएको थियो । सङ्घको संशोधित विधानबारेमा काङ्ग्रेसको आगामी असोज २५ गते बस्ने बैठकमा थप छलफल गरी पारित हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
मुलुकभर महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गरेको छ । महत्वपूर्ण चाडपर्वको मुखमा बजारमा चर्को मूल्यवृद्धि भएको भन्दै काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । यस सम्बन्धमा काङ्ग्रेसले ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्तावसमेत पारित गरेको छ ।


















