काठमाडौं/ राजपाका अध्यक्ष महन्थ ठाकुरले राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको राजपाका नेताहरूसँगको बैठकमा दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै ठाकुरले सो चेतावनी दिएका हुन् ।
प्रधानमन्त्रीसँग राति ७ बजेदेखि ९ बजेसम्म अध्यक्ष ठाकुरसहित अध्यक्षमण्डलका नेता महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा सहभागी थियो । प्रधानमन्त्री ओलीले आग्रह गरे, ‘यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत हो। त्यसैले समर्थन फिर्ता लिने कुरै नगरौं।’ अध्यक्ष ठाकुरले ‘तपार्इंलाई छठसम्म समय भयो’ भन्दै आपसमा छक्याउने र झुक्याउने काम नगर्न आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले तत्कालै भने, ‘मधेसको माग पूरा गर्ने काम यथाशीघ्र अघि बढाउन सकिनँ। परिस्थितिले मलाई साथ दिएन। अब म यो काम गरेरै छाड्नेछु।’ नेपाल र नेपालीको काममा किन कसैले सहयोग गर्दैन आफू आश्चर्यमा परेको भन्दै उनले आगामी दिनमा फेरि तीनबुँंदे कार्यान्वयन नभएको गुनासो तपाईंहरूबाट आउनदिने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टी एकतापछिका समस्याले पनि आफूले काम गर्ने पर्याप्त समय नपाउँदा तिहारसम्म संविधान संशोधन गरिसक्ने उनले जानकारी दिए ।
‘प्रधानमन्त्रीले राजपाको माग दसैंसम्म पूरा गर्ने वचन दिएकोमा हामीहरूले दसैं होइन, छठसम्मको समय दियौं।’ अध्यक्षमण्डलका नेता झाले वार्ताबारे भने


















