काठमाडौँ/ सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् ।
‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔं’ भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउन विश्व दृष्टि दिवस मनाइँदैछ ।
नेपालमा आँखासँग सम्वन्धी केही तथ्य
प्रतिष्ठानका अनुसार नेपालमा एक लाख २० हजार मानिस दृष्टिीबिहीन छन् । दश लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टि दोषको समस्या छ । अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् । अन्धोपनका १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् । नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिसमध्ये ६० प्रतिशत महिला छन् ।
न्यून दृष्टिको मुख्य कारणमा दृष्टि दोष, मोतिविन्दु र जलविन्दु रहेका छन् । सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भेक्षणमा ०.०६ प्रतिशत बालबालिकामा अन्धोपन देखिएकामा ८० प्रतिशत बालबालिकाको उपचार गरेर अन्धोपन हटाउन सकिने भेटिएको थियो ।
अन्धोपनाका मुख्य कारण मोतिविन्दु र यससँग सम्बन्धित ६५ प्रतिशत, आँखाको पर्दाजन्य रोग १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना छ प्रतिशत, जलविन्दु पाँच प्रतिशत, दृष्टि दोष चार प्रतिशत र अन्य सात प्रतिशत रहेको छ ।

















