काठमाडौं/ लोकसेवा आयोगले बिभिन्न पदका लागि प्रकाशित गरेको विज्ञापनमा आवेदन दिनेहरुको संख्या १० वर्षको अवधिमा ६ गुणाले बढेको छ ।
लोकसेवा आयोगले बिहीबार राष्ट्रपति समक्ष बुझाएको ५९ औं वार्षिक प्रतिवेदनमा सबैभन्दा बढी आवेदन प्रदेश २ बाट परेको छ भने नियुक्तिका लागि सिफारिस पनि प्रदेश २ कै सर्लाही जिल्लामा गरिएको छ ।
परीक्षा सञ्चालन, विज्ञापन प्रकाशनलगायतका कार्यसम्पादनका लागि आयोगले आर्थिक वर्ष २०७४/७५ मा ७५ करोड ८२ लाख बजेट खर्च गरेको छ । राजस्व संकलन भने १४ करोड मात्रै भएको छ ।
आयोगका प्रवक्ता किरणकुमार शर्माका अनुसार यस अवधिमा प्रदेश २ बाट मात्रै २५ प्रतिशत आवेदन परेको छ र स्थायी ठेगानाको आधारमा नियुक्तिका लागि गरिएको सिफारिसमा पनि प्रदेश २ कै जिल्ला अगाडि छ ।
प्रदेश २ अन्तर्गत पनि सप्तरी जिल्लाबाट सबैभन्दा बढी दरखास्त परेको छ । बढी दरखास्त पर्ने पाँच जिल्लाहरूमा क्रमशः सप्तरी, धनुषा, सिरहा, सर्लाही, महोत्तरी र रौतहट रहेका छन् । आयोगका अनुसार सबैभन्दा कम दरखास्त परेका जिल्लाहरूमा मनाङ, मुस्ताङ, रसुवा, डोल्पा र मुगु जिल्ला रहेका छन् ।
प्रतिवेदन अवधिमा कुल ७ हजार ७ सय १८ जना उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको छ । त्यसमध्ये स्थायी ठेगानाका आधारमा प्रदेश नम्बर २ बाट नै सबैभन्दा धेरै १ हजार ५ सय ६९ जना उम्मेदवार सिफारिस भएका छन् ।
सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने पाँच जिल्लामा क्रमशः सर्लाही, जुम्ला, गुल्मी, धनुषा, सप्तरी र रूकुम छन् ।
सबैभन्दा कम उम्मेदवार सिफारिस हुने जिल्लामा क्रमशः मुस्ताङ, रसुवा, डोल्पा, सोलुखुम्बु र तेह्रथुम रहेका छन् । मनाङ जिल्लाबाट भने कुनैपनि उम्मेदवार सिफारिस भएनन् ।
नियुक्तिका लागि सिफारिस भएका पुरुषहरु ५ हजार २ सय ५३ जना र महिला २ हजार ४ सय ६५ जना रहेका छन् । यस वर्ष सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २७ वर्ष रहेको प्रवक्ता शर्माले जानकारी दिए ।

















