झापा / प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा बन्न लागेको रंगशालालाई नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले कुनै पनि हालतमा स्व. जननेता मदन भण्डारीको नामसँग जोड्न नदिने जनाएका छन् ।
झापामा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै शर्माले भने, ‘रंगशालामा प्रधानमन्त्री केपी ओलीले राजनीति नगरुन्। जबरजस्ती गरे म पनि झापाकै हुँ। गर्धन थाप्छु, तर आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन हुन दिन्नँ।’
उनले बहुसंख्यक अादिवासी जनजातिको समाधिस्थल मासेर निर्माण गर्न लागिएको रंगशालामा प्रधानमन्त्री अोलीले राजनीति गरेको आरोप लगाए।
झापा निर्वाचन क्षेत्र नम्बर ५ को पाडाजुँगीमा आदिवासी जनजातिका लगभग आठ सय समाधिस्थल हटाएर अन्तर्राष्ट्रिय रंगशाला ‘आदिवासी जनजाति’ नाम राखेर रंगशाला निर्माण गर्ने नेपाल सरकारको तयारी थियो। तर, सत्तारुढ दलको दबाबमा स्व. नेता मदन भण्डारीको नाममा रंगशाला निर्माण गर्न लागिएपछि त्यहाँका आदिवासी जनजाति आक्रोशित छन्।
पाडाजुँगी चोकको पूर्वपट्टि डेढदेखि दुई बिगाहा जमिनमा राई, लिम्बूहरू र तामाङ समुदायहरूको समाधिस्थल छ। त्यहाँ रंगशाला बनाउने प्रस्ताव २०६५ मै भई स्थानीयबाट स्वीकृत भएको थियो।
माधवकुमार नेपाल नेतृत्वको सरकारताका तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारी आएर त्यहाँ ‘आदिवासी जनजाति रंगशाला’कै नाममा शिलान्यास भएको थियो।


















