काठमाडौं / काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा प्रदेश ३ का भौतिक पूर्वाधार तथा योजना मन्त्री केशव स्थापितमाथि लगाइएको यौन उत्पीडनको आरोप भ्रमपूर्ण भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरले विज्ञप्ति जारी गर्दै पूर्वकर्मचारी रश्मिला प्रजापतिले अनियमितता गरेको र कर्मचारीलाई अभद्र व्यवहार गरिएकोले निष्काशन गरिएको जनाउँदै उक्त समय स्थापित महानगर प्रमुख नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘महानगर अन्तरगत हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रममा कार्यरत तत्कालीन शाखा अधिकृत रश्मिला प्रजापतिले अनियमितता गरेको र कर्मचारीलाई अभद्र व्यवहार गरेकोले हड्ताल भइ चार दिनसम्म काम ठप्प भयो। सोही कारण अस्थायी कर्मचारीको सेवामा कार्यरत निजलाई प्रशासनिक प्रकृयाबाट हटाइएको हो। उक्त समय केशव स्थापित महानगरको प्रमुख थिएनन्,’ विज्ञप्तिमा भनिएको छ।
प्रजापतिले कात्तिक ४ गते सामाजिक सञ्जाल फेसबुकमा स्थापितको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको अनुभव लेखेकी थिइन्। काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापति र पूर्वपत्रकार उज्जला महर्जनले काठमाडौं महानगरका पूर्वमेयर तथा प्रदेश नम्बर ३ का भौतिक योजना मन्त्री केशव स्थापितमाथि यौन उत्पीडनको आरोप लगाएका थिए ।


















