बारा र पर्साका हावाहुरी पीडितलाई आज घर हस्तान्तरण गरिने

395

बारा / नेपाली सेनाले बारा र पर्सामा आएको हावाहुरीबाट विस्थापित भएकाहरुका लागि निर्माण गरिएको घर आज हस्तान्तरण गरिने भएको छ । गत चैत्र १७ गते बारा र पसांमा विनासक हावाहुरी आएको थियो । जसले गर्दा ठूलो क्षति पुगेको थियो । २९ जनाको मृत्यु भएको थियो भने एक हजार भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो।

चैत्र २१ गते मन्त्रिपरिषद् बैठकले हुरीपीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। नेपाली सेनाको जनता आवास कार्यदलले बारामा निर्माण गरेको ८०७ र पर्सामा निर्माण गरेको ६२ वटा घर हुरीपीडितलाई हस्तान्तरण गर्न लागिएको हो। सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा रहेको छ। उक्त घर प्राकृतिक प्रकोप प्रतिरोधी रहेको सेनाको भनाइ छ।

रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले घरको स्थलगत निरीक्षण गरी साचो हस्तान्तरण गर्ने कार्यक्रम नेपाली सेनाले तय गरेको छ। घर हस्तान्तरण गर्न मन्त्री पोखरेल बुधबार बिहान बारा आउने नेपाली सेनाले जानकारी दिएको छ। सेनाका अनुसार मन्त्री पोखरेलले हुरीपीडितका लागि बनेका घरको निरीक्षण गरी वीरगन्जमा आयोजना हुने कार्यक्रममा साचो हस्तान्तरण गर्नेछन्।

नेपाली सेनाले बैशाख २१ गते घर निर्माणको कार्य थालनी गरेका थिए। घर निर्माणका लागि बारामा मात्रै झण्डै तीन हजार सेना खटिएका थिए। सेना १२ समूह बनाएर घर निर्माणमा जुटेका थिए।

रक्षा तथा उपप्रधानमन्त्री पोखरेल, उपप्रधानमन्त्री उपेन्द्र यादवसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रमुख र मुख्यमन्त्रीसहित १२ जनाले बारा र पर्सामा एकसाथ घरको शिलान्यास गरेका थिए। सेनाले बारा र पर्सामा गरी ८८१ घर निर्माण थालेको थियो। केही घरमा विवाद देखिएपछिसेनाले सय ८६९ घरको काम सुरु गरेको थियो।

हुरी पीडितले घरको लागत प्रतिघर ४ लाख ८५ हजार रहेको छ। सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४६ हजार दरले रकम उलपब्ध गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here