काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैद्य नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकता गर्ने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले जनाएका छन् ।
शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा अध्यक्ष कट्टेलले निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपालाई वैधानिकता दिएको भोलिपल्टै सो घोषणा गरेका हुन् । एकताको लागि छलफल जारी रहेको पनि उनले जनाए ।
जनताले (नेकपा)का अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको सरकार हेरिसकेको जनाउँदै आफूहरु विकल्पको रुपमा आउने अध्यक्ष कट्टेलले जनाए ।
‘ओली–प्रचण्डजीहरु आफूलाई कम्युनिष्ट हौं भन्दै जनताका बीचमा जानुभयो, जनताले उहाँहरुलाई भोटपनि दिए । तर, ८ महिनामा दुईतिहाई सरकारका कामकारबाही जनताले हेरिसके । अबको विकल्पको रुपमा हामी शक्ति बन्छौं’ कट्टेलले भने।
कट्टेलले दल दर्तासम्बन्धी ऐनको धज्जी उडाउँदै सरकारी शक्तिको आडमा नेकपा नाम कब्जा गर्न खोजिएको दाबी गरे । सत्तारुढ नेकपालाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयबिरुद्ध अदालत जाने जानकारी दिएका कट्टेलले ओली–प्रचण्डले जनतालाई भ्रममा पार्न पार्टीको (नेकपा) राखेको जनाए ।

















