ऐतिहासिक सिन्धुलीगढीमा २५१ औँ विजयोत्सव

308

काठमाडौँ, २५ कात्तिक । नेपाली वीरताको इतिहास बोकेको सिन्धुलीगढीमा २५१ औँ विजयोत्सव मनाइएको छ ।
सिन्धुलीगढीमा भएको लडाईंमा नेपाली फौजले अङ्ग्रेज फौजलाई पराजित गरेको घटनाको सम्झनामा हरेक वर्ष मनाइदै आएको विजयोत्सव यो वर्ष पनि मनाइएको हो । ।

विजयोत्सवका अवसरमा युद्धमा वीरता देखाएका सैनिकको तस्वीरमा माल्यापर्ण गरिएको थियो सिकारी सरदार वंशु गुरुङ, काजी श्रीहर्ष पन्त, काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्यायको फौजले चेपुवामा पारी अङ्ग्रेज फौजमाथि आक्रमण गरेको थियो ।

विसं १८२४ असोज १५ गते भएको उक्त युद्धमा एक हजार ६०० जति अत्याधुनिक बन्दुकधारी अङ्ग्रेज जवान ज्यान गएको थियो । अङ्ग्रेज फौजसँगको लडाईं असोजमा भए पनि लडाईं सकेर फर्केको दिनलाई आधार मानेर कात्तिक २४ गतेका दिन विजय दिवस मनाउने गरिएको छ ।

सिन्धुलीगढीको महत्वका कारण त्यस क्षेत्रको सुरक्षा र संरक्षणका लागि नगरपालिकाले सरकारसँग नेपाली सेनाको टुकडी तैनातीका लागि अनुरोध गरेको छ । हालको कमलामाई नगरपालिका–३ मा पर्ने सिन्धुलीगढी समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित छ ।

त्यस क्षेत्रमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी रहेका छन् । ठूलोगढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलोगढीमा तोप, गोलाबारुद्ध, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानोगढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ ।

मकवानपुरका सेन राजाको पालामा निर्माण गरिएका उक्त गढीमा कर सङ्कलन गर्ने प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिएको थियो । गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खाल निर्माण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here