काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यकः देउवा

94

काठमाडौँ, २५ कात्तिक, । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताएका हुन् ।

नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उनले बिपी र सुवर्ण शमशेरले स्थापना गरेको मान्यता नै काङ्ग्रेसको मार्गदर्शक नीति भएको बताए । सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने बताउँदै सभापति देउवाले त्यो काम पार्टीले गर्ने जानकारी दिए ।

कार्यक्रमका विशिष्ट अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुवर्ण शमशेरले सङ्घर्षको अवस्थामा पनि पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गर्नुभएको स्मरण गरे । काङ्गेसमा एकता आवश्यक रहेको भन्दै नेता पौडेलले मुलुकको वर्तमान गम्भीर परिस्थितिलाई काङ्ग्रेसले आँकलन गर्न नसकेको र स्थिति यस्तै रहने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनमा थप जटिलता आउने चेतावनी दिए ।

नेता पौडेलले सुवर्ण शमशेर त्यागी, दानी र कार्यकर्तालाई स्नेह गर्ने नेता भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here