-निशा तामाङ
नेपालमा कम्युनिष्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार निर्माण भएको पनि दश महिना पुग्न लागिसकेको छ । कम्युनिष्ट पार्टीको सरकारले नेपाली जनताको जीवनस्तर माथि उठाउने प्रयास गर्नुपर्नेमा सरकारको त्यसतर्फ कुनै कार्यक्रम रहेको जनतालाई जानकारी समेत हुन सकेको छैन ।
जनताका बीचमा मत माग्न जाँदा कम्युनिष्ट पार्टीले सरकार बनाउन पायो भने यसो गर्ने छौं र उसो गर्ने छौं भन्दै आश्वासन बाँडिएको थियो । जनताले कम्युनिष्ट पार्टी प्रति आकर्षण देखाउने र मत दिने कारण पनि आश्वासनसंग जोडिएको छ । तर सरकारले आफूबाट दिएका आश्वासनलाई चटक्कै बिर्सिदिएको महशुस हुन्छ ।
दुई तिहाईको बहुमतको सरकारले गर्न चाहने हो भने जे सुकै पनि गर्न सक्दछ । त्यसैमा पनि जनताको जीवनस्तर माथि उठाउने सवालमा केन्द्रीत रहेर सरकारबाट कुनैपनि कार्यक्रमको थालनी हुन्छ भने त्यस्तो कार्यक्रमले जनताबाट स्वागत पाउने निश्चित हुन्छ । जनताबाट स्वागत पाउनु भनेको सरकारको समर्थनमा जनता आकर्षित हुनु नै हो । जनताबाट समर्थन पाउने सरकारले कसैबाट आलोचना सुन्नु पर्दैन । जनताको समर्थन रह्यो भने विपक्षी पार्टीको विरोधको पनि कुनै अर्थ रहँदैन । त्यसैले सरकारको काम, सरकारको योजना सबै जनतामा केन्द्रीत हुनु जरुरी हुन्छ । तर हाम्रो देशमा ठ्याक्कै उल्टो काम भइरहेको छ ।
जनताको निम्ति काम गनुपर्ने सरकारले उल्टो काम गरिरहेको छ । उच्च पूर्व पदासिनहरूको भत्ता बढाउने , सांसदहरूको तलब र भत्ता बढाउने , मन्त्रीहरूको तलब बढाउने काममै ध्यान केन्द्रीत भएको देखिन्छ । स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मले जनतामाथि कर असुल्ने काम भइरहेको छ । जनताबाट उठाइएको करको सदुपयोग गर्नेतर्फ सरकारको ध्यान पुगिरहेको छैन । सरकारले ध्यान पु¥याउन नसकेका त्यस्ता जनसरोकारका कामहरूतर्फ सम्बन्धित दलका सांसदहरूले सरकारलाई सचेत गराउने र दबाब सृजना गर्ने काम गनुपर्ने हो । त्यसतर्फ पनि कुनै प्रगति देखिदैन ।
जनताको पक्षमा काम गर्ने सोचाइ नभएपछि नै यस्तो अवस्था देखा पर्दछ । कम्युनिष्ट राजनीति गरिरहेका व्यक्तिहरूबाटै जनसाधारणका आवश्यकतातर्फ ध्यानाकर्षण हुदैँन भने यसबाट कम्युनिष्ट पार्टीप्रतिको जनविश्वास कम हुने निश्चित हुन्छ । दुई तिहाई बहुमत पाएर मख्ख परेका राजनीतिक दलका नेताहरूले यो वास्तविकतालाई मनन गर्न सक्नु पर्दछ । तर त्यो संकेत पनि देखिदैँन ।
जनताका आवश्यकताहरू पुरा गराउनतर्फ सरकारले चासो देखाउने हो भने देशमा रहेको प्राकृतिक सम्पदाको उत्खनन् र देशमा जल सम्पदाको सदुपयोग नै महत्वपूर्ण पक्ष हो । प्राकृतिक सम्पदाको उत्खनन् र जल सम्पदाको सदुपयोगतर्फ सरकारले योजना तर्जुमा गर्ने हो भने देशमा बेरोजगारीको समेत अन्त्य हुने निश्चित छ ।
रोजगारीका निम्ति विदेशिएका युवाहरूलाई देशभित्रै रोजगारीको अवसर प्राप्त हुनेछ भने देशलाई आत्मनिर्भर बनाउने आधार पनि तयार हुनेछ । जबसम्म बेरोजगार युवाहरूलाई देशभित्र रोजगारी सृजना गर्न सकिदैन, तबसम्म देश आत्मनिर्भर बन्न सक्दैन । देशको आत्मनिर्भरता युवाहरूको श्रमशक्तिसंग जोडिएको हुन्छ । देशको श्रमशक्ति विदेशिएपछि आत्मनिर्भर अर्थतन्त्रको विकासका निम्ति पाखुरा कसले चलाउने ? यो गम्भीर प्रश्नतर्फ सरकारको ध्यान पुग्नु जरुरी छ ।
हुन त सरकारमा पुगेका व्यक्तिहरूमा अवश्य पनि जानकारी भएको विषय हो , तर चासो नभइदिए पछि जानकारी भएर मात्र पुग्दो रहेनछ । देशलाई आत्मनिर्भर तुल्याउने आधारहरू देशभित्रै छन् भन्ने कुरा सरकारमा प्रतिनिधित्व गर्ने नेताहरूले नबुझ्ने कुरा हुदैँन । वर्तमान सरकारले नेपाललाई आत्मनिर्भर बनाउन सकेन भने यस्तो हैसियतको सरकार भविष्यमा कल्पना गर्न सकिदैन । – [email protected]


















