समाजवादी धारकी यी अमेरिकी कान्छी सांसद

98

उनी विश्वकै सबैभन्दा ठूलो कर्पोरेट सहर न्यूयोर्कमा जन्मिइन् । २० वर्षको पुग्दा नपुग्दै ‘धन’ र ‘मानवीयता’ बीचको गहिरो अन्तर महसुस गर्न थालेपछि पीडाको डिग्री बढ्न थाल्यो । त्यो रोमाञ्चक उमेरमा उनी बाल साहित्यमा काम गरिरहेकी थिइन् । तर राजनीतिमा होमिइन् ।

‘यसको एउटै कारण छ राजनीति निष्ठावान र दृढ भए यी दुई बीचको विभाजन कम पार्न सकिन्छ, परिवर्तन ल्याउन सकिन्छ’, अलेक्जेन्ड्रिया ओकासियो कोर्तेज भन्छिन् ।

अमेरिकामा सोमबार भएको निर्वाचन परिणाम आउँदा न्यूयोर्क निवासी २९ वर्षे यी युवतीले नयाँ इतिहास रचिन् । २२९ वर्षको इतिहास बोकेको अमेरिकी कंग्रेसमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी उनी सबैभन्दा कान्छी निर्वाचित सांसद भएकी छन् । ‘मैले इतिहास रच्नुको अर्थ मैले पैसा कमाएँ भन्ने होइन । राजधानी वासिङ्टन डिसीमा अपार्टमेन्ट भाडामा लिन समेत मसँग पैसा छैन’, विजयी भइसकेपछि न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले भनेकी छन् ।

अलेक्जेन्ड्रिया ओकासियो कोर्तेज एक वर्ष अघिसम्म न्यूयोर्क म्यानहटनको एउटा पबमा बार टेन्डरको काम गर्थिन् । दैनिक जीविकाका लागि काम गर्नुपर्ने पृष्ठभूमिबाट नीति निर्माता बनेकी यी युवती यतिबेला आफ्नो जीवनको नयाँ यात्रा तय गर्दैछिन्।

नोभेम्बर पहिलो साता मतदानको मिति नजिक आइरहँदा नेताहरूका वैभवशाली चुनावी प्रचार र चुनावी पार्टीहरूले तीव्रता पाइरहेका थिए । सत्तारूढ रिपब्लिकन पार्टीका उम्मेदवारले आफ्नो प्रचारलाई झन् तीव्र पारेका थिए । अलेक्जेन्ड्रियाको चुनावी प्रचार प्रतिस्पर्धीको तुलनामा भव्य थिएन । तर न्यूयोर्क पोष्टसहित स्थानीय मिडियामा केही फरक कभरेजहरू आए । तिनको शीर्षक हुन्थ्यो– ‘अलेक्जेन्ड्रिया न्यूयोर्कमै आफ्नी आमासँग एक बेडरूमको अपार्टमेन्टमा बस्छिन्’, ‘अलेक्जेन्ड्रिया एक जना बार टेन्डर हुन् जसको फोटो अहिले पनि रेष्टुराँको वेबसाइटमा छ’, आदि । चुनाव नजिक आइरहँदा उनले बारमा १८ घन्टासम्म काम गरेको संघर्षको कथा अमेरिकी सञ्चार माध्यममा आए ।

अमेरिकामा ‘सबैको पहुँचमा आवास’ एउटा ठूलो राजनीतिक मुद्दा हो । हार्डवर्ड हाउसले गरेको एउटा अध्ययनले अमेरिकामा ३ करोड ८० लाख परिवार हाउजिङका लागि पैसा जुटाउन सक्ने अवस्थामा नभएको देखाएको छ । अलेक्जेन्ड्रिया एउटा त्यस्तो अभियानकी उत्पादन हुन् जसले आवासमाथिको पहुँच समान हुनुपर्छ भनेर लामो समयदेखि आवाज उठाउँदै आएको छ । चुनावी अभियानमा उनले चिकित्सा र आवासलाई मुख्य मुद्दा बनाइन् ।

निर्वाचन परिणामसँगै धनी र गरिबबीचको विभेद कम गर्ने उनको मुद्दालाई दुई तिहाई बढी न्यूयोर्कबासीले अनुमोदन गरेका छन् । उनले ७८ प्रतिशत मतका साथ गर्विलो विजयी हात पारिन् ।

हेभिवेटलाई उछिनेर उम्मेदवार
अलेक्जेन्ड्रियाका लागि विपक्षी रिपब्लिकन पार्टीका उम्मेदवार हराउनभन्दा कठिन आफु उम्मेदवार बन्न थियो । डेमोक्र्याटले सधैँ जित्दै आएको न्यूयोर्कको ब्रोन्क्स एन्ड क्विन्स निर्वाचन क्षोत्रबाट जोए क्रोउलीले प्रतिनिधित्व गर्दै आएका थिए ।

जोए सदनमा डेमोक्रेटिक पार्टीका चौथो नम्बरका नेता हुन् । जसलाई डेमोक्रेटिक पार्टीमा संसदीय दलकी नेता नेन्सी पोलिसीलाई प्रतिस्थापन गर्ने नेताको रूपमा हेरिन्थ्यो । जोएलाई सो निर्वाचन क्षेत्रमा सन् २००४ यता कसैले पनि चुनौती दिने आँट गर्न सकेका थिएनन् । गत जुलाईमा प्राइमरी चुनाव भइरहँदा न्यूयोर्क सहरमा एउटा भिडियो भाइरल भयो । ‘मजस्तो महिला सायद चुनाव उठ्नु हुँदैन होला । म कुनै धनी र शक्तिशाली परिवारमा जन्मिइनँ’ भनाइबाट सुरू हुने सो भिडियोले न्यूयोर्क बाहिर समेत निकै चर्चा पायो ।

चुनावलाई ‘नागरिक भर्सेज पैसा’ का रूपमा अथ्र्याउँदै उनले फरक अभियान चलाइन । उनले भनिन्, ‘म एक जना शिक्षक, संगठक र न्यूयोर्कको कामदार वर्गको हुँ ।’ जसले खासगरी कामदार वर्गका मतदातालाई भित्रैसम्म छोयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here