गणित विषयमा मात्र कमजोर भएका विद्यार्थीका लागि यसमा रुचि जगाउँने दायित्व गणित शिक्षककै हो ।
सामान्यतः अन्य विषय अध्यापन गर्ने शिक्षक जस्तै गणित शिक्षक पनि एक घण्टिमा ४५ मिनेट मात्र कक्षामा बस्ने हो । विविधतायुक्त समाजबाट आएका छुट्टा–छुट्टै क्षमता भएका विद्यार्थीलाई गणितका सीपहरू सिकाउँदै गणितप्रति रुचि जगाउन गणित शिक्षकले आफूले मात्र औपचारिक अध्ययन गरेर पुग्दैन, कक्षामा उपस्थित विद्यार्थीका क्षमताको पनि सूक्ष्म रुपले अध्ययन गर्नु पर्छ ।
एउटा विद्यार्थी क्षमतावान हुन विद्यालयमा अनुकूल वातावरण, शिक्षकको अध्यापन गर्ने तरिका र अभिभावकको सहयोगी भावनाको समिश्रण हुनु अनिवार्य छ । गणित शिक्षकले अभिभावकसँग समय–समयमा परामर्श गर्नु पर्छ । अभिभावकको सहयोग नलिईकन विद्यार्थीलाई क्षमतावान बनाउन सकिँदैन ।
शिक्षकले नै प्रधानाध्यापकसँग विद्यालयको वातावरण निर्माण गर्न सल्लाह गर्ने, अभिभावकलाई अभिभावकीय दायित्व निर्माण गर्न समय–समयमा झक्झकाउँने, विद्यार्थीलाई ‘गर्न सकिन्छ,’ ‘गरिरहेको राम्रो छ,’ ‘पहिले गरेको पनि राम्रो थियो’ आदि जस्ता आत्मविश्वास र प्रेरणादायी तरिकाले भन्ने गर्नु पर्छ । यतिले मात्र गणित शिक्षकको दायित्व पूरा हुँदैन । योबाहेक गणित शिक्षक निम्न लिखित बुँदाहरुप्रति विशेष सजग हुनु पर्छ।
१) शारीरिक अवस्थाः विद्यार्थीमा देख्ने, सुन्ने, टाउको, पेट दुख्ने आदि समस्या छन् भने शिक्षकले उचित परामर्श दिनु पर्छ । गणित विषय अध्ययन गर्न विद्यार्थीले विशेष ध्यान दिनु पर्छ । यी समस्याहरुबाट मुक्त भएमा मात्र विद्यार्थीले सहजै अध्ययन गर्न सक्छ ।
२) मानसिक अवस्थाः विद्यार्थीमा मानसिक रोग जन्मजात वा वातावरणले हुन सक्छ । मानसिक रोग, मानसिक असन्तुष्टि, घरायसी समस्या, तनाब, असुरक्षाको भावना, हिनताको भावना आदि भएमा गणित विषयमा विद्यार्थीले कम रुचि दिन्छ । यस्तो अवस्थामा अभिभावकलाई उचित सल्लाह दिएर विद्यार्थीलाई उपचार गर्ने वातावरण मिलाउनु पर्छ ।
३) विषयप्रति अरुचिः गणित विषयमा विद्यार्थीको रुचि प्राकृतिक वा वातावरणले पनि नभएको हुन सक्छ । यस्तो अवस्थामा शिक्षकले अरु विषय पढ्न गणित सहयोगी हुने, यो बुझ्नलाई कठिन विषय होइन भन्ने उदाहरण दिने, गणितका सजिला पाठहरुलाई व्यवहारिक बनाएर अध्ययन गराई विद्यार्थीको रुचि जागृत गराउनु पर्छ । पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका जटिल समस्या मात्र होइन, अन्य सजिला र व्यवहारिक समस्या पनि छन्–तिनीहरु सहजै समाधान गर्न सकिन्छ भनी विश्वास दिलाई विद्यार्थीमा गणितप्रति रुचि जगाउन सकिन्छ ।
४) आधारभूत ज्ञानको कमीः विद्यार्थीले पहिले अध्ययन गरेको कुरा समयमा प्रयोग गर्न नसक्ने हुन सक्छ । शिक्षकले पढाउँदा आवश्यक पर्ने सबै आधारभूत कुराहरु भनिदिनु पर्छ । यो पहिलेको कक्षामा पढेको, पहिलेका पिरियडमा पढेका हुन् भनेर छोड्नु हुँदैन । सबै भनिदिनु पर्छ । यस्तो तरिकाले विद्यार्थीको आत्मबल बढ्छ । विद्यार्थीले नबुझेको कुरा पटक–पटक भन्नु पर्छ । यो तरिकाले पढाउँदा विद्यार्थीले आफू कमजोर भएको महशूस गर्दैन ।
५) घर–परिवारको गलत प्रभावः कहिलेकाहीँ अभिभावकले गणित कठिन विषय हो, यो पढ्न सकिँदैन, पढेर काम पनि छैन, मैले त कहिल्यै पनि पढिनँ भन्ने जस्ता वाक्यहरु घर–व्यवहारमा भनिदिँदा विद्यार्थीमा नकारात्मक प्रभाव पर्छ । यस्ता नकारात्मक धारणाले विद्यार्थीको मनोबल घट्छ । यसको बदलामा अभिभावकले ‘पढ्न सकिन्छ, पढेपछि राम्रो काम पाइन्छ, पढ्न पनि सजिलो छ, तिमी पढ्न सक्छौं’ भनी सकारात्मक कुरा मात्र गर्नु पर्छ । यसो गर्दा विद्यार्थीमा आत्मबल बढ्छ ।
६) शिक्षकको व्यवहारः गणित शिक्षक बढी उदार भयो भने खराब प्रवृत्तिका विद्यार्थीले मात्र फाइदा लिन्छन् । कमजोर विद्यार्थी ध्यान नदिने र विषयप्रति गम्भीर नहुने हुन्छन् । त्यस्तै बढी कडा भई जथाभावी सजाय मात्र दियो भने विद्यार्थीले शिक्षकलाई मात्र मन नपराउने होइन कि विषयलाई समेत मन पराउँदैनन् । यसैले, गणित विषय पढाउने शिक्षकले आफूले गर्ने व्यवहारप्रति सधैं सचेत रहनु पर्छ ।
७) मध्य शत्रमा सरुवाः एउटा शत्रमा पढाइको शुरु भइसकेपछि शिक्षकलाई पनि सरूवा गर्नु हुँदैन, विद्यार्थीले पनि विद्यालय परिवर्तन गर्नु हुँदैन । शिक्षकको पढाउने शैली विद्यार्थीले बुझ्न र विद्यार्थीको बानी–ब्यहोरा शिक्षकले जानिसकेका हुन्छन् । अन्यत्र गएर बुझ्न दुबै शिक्षक र विद्यार्थीलाई समय लाग्छ । शिक्षकले विद्यार्थीको क्षमता बुझेर पढाएन भने विद्यार्थी अलमलमा पर्छन् । शैक्षिक शत्रको बीचमा शिक्षकको सरुवा पनि हुनु हुँदैन र विद्यार्थीले पनि विद्यालय परिवर्तन गर्नु हुँदैन ।
८) शिक्षकको लोकप्रियताः गणित विषय अध्यापन गर्ने शिक्षकको समाजमा लोकप्रियता राम्रो हुनु पर्छ । लोकप्रिय शिक्षक भयो भने शिक्षक विद्यार्थीको लागि प्रेरणाको स्रोत हन्छ । खराब आचरण भएको शिक्षक भयो भने विद्यार्थीले शिक्षक मात्र मन नपराउने नभई उसले पढाउने विषय पनि मन नपर्न सक्छ । त्यसकारण शिक्षकले आफ्नो विद्वता र चरित्रको सधैंभरी ख्याल गर्नु पर्छ ।
९) पढाउने तरिकाः शिक्षकको पढाउने तरिकामा पनि विद्यार्थीको प्रगति निर्भर हुन्छ । शिक्षकले प्रत्येक वर्ष पढाएको विषय भएतापनि हरेक साल फरक–फरक स्वभाव र ज्ञान भएका विद्यार्थी विद्यालयमा आउँछन् । त्यसैले, प्रत्येक वर्ष पढाउँदा विद्यार्थीको मनोभावना बुझेर पढाउनु पर्छ । खास पाठ पढाउन खास विधि भएतापनि शिक्षकले विद्यार्थीले सजिलै बुझ्न सक्ने विधि अपनाउनु पर्छ । सामान्य स्तरभन्दा कम क्षमता भएका विद्यार्थीलाई पढाउँदा कक्षाको तह मात्र हेरेर हुँदैन, विद्यार्थीको क्षमता हेरेर पनि अध्यापन गर्नु पर्छ ।
१०) अभ्यासको कमीः एउटै कक्षाका विद्यार्थी भएतापनि एउटा समस्या हल गरे पछि केही विद्यार्थीले अन्य अरु समस्या पनि समाधान गर्न सक्छन् भने केहीले चाहिँ गर्न सक्दैनन् । यस्तो अवस्थामा विद्यार्थीको क्षमता हेरी शिक्षकले पटक–पटक भएपनि हल गरिदिनु पर्छ । शिक्षकले अध्यापन गर्दा कम बुझ्नेलाई पनि हुनेगरी अध्यापन गर्नु पर्छ । अभ्यासले नै निपूर्णता बनाउँछ भन्ने कुरामा विद्यार्थीलाई विश्वास दिलाउनु पर्छ ।
११) गृहकार्य गर्न प्रेरणा दिनेः विद्यार्थीले गृहकार्य गरेको छैन भने के कारणले गरेको छैन रु कारण पत्ता लगाउनु पर्छ । घरमा समय नमिलेर हो वा शिक्षकले पढाएको नबुझेर गृहकार्य नगरेको हो रु यकिन भएपछि नबुझेर हो भने फेरि पढाइदिनु पर्छ । घरमा समय नमिलेर हो भने शिक्षकले अभिभावकलाई भेटेर उचित वातावरण मिलाउन सुझाब दिनु पर्छ ।
१२) अनियमित उपस्थितिः विद्यार्थी नियमित कक्षामा उपस्थित हुने वातावरण मिलाउनु पर्छ । कुनै विशेष कारणले उपस्थित हुन सकेन भने त्यस्ता विद्यार्थीका लागि छोटो समयको छुट्टै कक्षा लिने व्यवस्था मिलाउनु पर्छ । यस्ता कक्षाहरु परीक्षा हुनुभन्दा अगाडि हुनु राम्रो हुन्छ ।
१३) कमजोर हस्तलेखनः सफा ज्यामितीय चित्र तथा शुद्ध हस्तलेखन जेहेन्दार विद्यार्थीको लागि नभई नहुने तत्व हुन् । यदि यस्ता विद्यार्थी छन् भने भाषा शिक्षकको मद्दत लिएर भएपनि हस्तलेखनमा सुधार ल्याउनु पर्छ । राम्रा र शुद्ध लेखाइले उत्तरपुस्तिका परीक्षण गर्न सहज हुन्छ ।
१४) परीक्षा प्रणालीः आन्तरिक परीक्षाहरू नियमित लिने, उत्तरपुस्तिकाहरुमा भएका कमी–कमजोरीहरू सच्याउने अवसर दिने हो भने अन्तिम परीक्षामा विद्यार्थीले राम्रो गर्छन् । प्रश्न बनाउँदा नबुझिने, गल्ति भएको, घुमाउरो नबनाई पढाउँदा प्रयोग गरेका शब्द नै परीक्षामा प्रयोग गर्नु पर्छ । पटक–पटक लिने आन्तरिक परीक्षाले विद्यार्थीको मनोबल उच्च बनाउँछ।आजको शिक्षा


















