काठमाडौं / प्रदेश ३ सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम संचालन गर्ने भएको छ। विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य सरसफाई र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स राख्न लागिएको मन्त्रालयले उल्लेख गरेको छ।
पहिलो चरणमा छनौट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम संचालन गरिने जानकारी प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। यसैका तयारी स्वरुप मन्त्रालयले ‘एक प्रदेश एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ समेत जारी गरिसकेको छ।
किशोर-किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी दुई वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम संचालनमा ल्याउने योजना बनाएको थियो।
कार्यक्रम संचालनका लागि प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका सामुदायिक विद्यालयका प्राध्यानाध्यापक, स्थानीय पालिकाका प्रतिनिधि लगायतलाई एक दिने अभिमूखीकरण तालिम प्रदान गरेको छ।

















