जनवादी गणतन्त्र चीन र प्रजग कोरियाको सामाजिक अध्ययन भ्रमण

202

-डा.दीपेन्द्र रोकाया /देवकी तिमल्सिना

ग्रेटवाललाई युनेस्कोले सन् १९८७ देखि विश्व सम्पदा सुचीमा सूचीकृत गरेको छ । संसारमा यसलाई सातौ आश्चर्य मध्येको एक मान्ने गरिएको छ । यो पर्खाल अहिले बिश्वभरिबाट चीनमा पर्यटक तान्ने एउटा आर्कषक कडी बनेको छ । ग्रेटवालको निर्माण सँगसँगै स–साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवालको निर्माणले विशाल चीन निर्माण भएको रूपमा पनि लिने गरिदो रहेछ । ग्रेटवालको वेशीतिर कु पै श्वै भन्ने पुराना बस्तीहरू पनि छन् ।

यसै आ.व. २०७५/०७६ को लागि कर्नाली प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माण गर्दा पर्यटकीय विकासका लागि एउटा पर्यटकीय सर्कीट बनाउने उद्देश्य राखिएको थियो । यो सर्कीट यसैगरी निर्माण गर्न सकिएमा नेपालको ग्रेटवाल कर्नालीमा निर्माण गर्न सकिने छ । वास्तवमा प्राकृतिक, धार्मिक, ऐतिहासिक र साँस्कृतिक रूपमा विश्वको पर्यटकीय गन्तव्य नेपाल हो भने नेपालको पर्यटकीय गन्तव्य कर्नाली क्षेत्र हो । यो कुरा शासकहरूले नबुझ्दा नीतिगत रूपमा गर्भाधान गरेको बच्चा तुहिने खतरा देखिरहेको छु ।

ग्रेटवालको अवलोकन गर्दा भोक पनि बिसेछौ । चाउले दिएको समयको याद गर्दै फर्केर दिउँसोको खाना खायौ । खाना लागेर सबै जना गाडीमा निदायौ । गाडीको तीब्र वेगसँगै व्युझँदै हरियाली सडक तथा वस्तीहरूको अवलोकन भयो । हामीलाई चाउले होटलमा पु¥याएर विदा मागे । हामीले महामहिम राजदुत लिलामणि पौडेललाई विशेष धन्यवादको सन्देशसहित उहाँलाई विदा दियौ ।

समाजवादी पत्रकार मञ्च नेपालले नेपालबाट चीन आएको पहिलो दिनमै ग्रेटवालको अवलोकन गर्न पाउनुलाई चीनमा अवलोकन गर्नपर्ने मुख्य र महत्वपूर्ण कार्य सम्पन्न गरेको रूपमा लियो । वास्तवमा आफै खर्च गरेर जान परेको भए यो ट्रिप हाम्रो टिमको लागि अलि महंगो पर्नेवाला थियो ।

रेलमा सरर
सबेरै उठेर नुहायौ । सबै जना लबीमा जम्मा भएर पैसा साट्ने ठाउँको खोजीमा निस्क्यौ । संयोगले बैंक नजिकै रहेछ । एक जना नानीले सटहीमा सहयोग गरिन् । आजको प्रति डलर ६.८४ यान रहेछ । हामीले २०८५ डलरको १४,२७७ यान प्राप्त ग¥यौ । चिनियाँ ती सहयोगी युवतीको रुचीअनुसार केही तस्वीर लिन दिइयो । त्यहाँबाट निस्केर खाना खाने ठाउँको खोजी ग¥यौ ।

हामीले नेपालका चीनस्थित महामहिम राजदुत लिलामणि पौडेलसँग फोन सम्र्पक ग¥यौ । उहाँलाई हिजोको सहयोगप्रति धन्यवाद दियौँ । उहाँसँग कोरियाबाट फर्केपछि भेट्ने जानकारी दियौ ।

मिस किमसँग सम्पर्क गरी सिधै ट्याक्सी लिएर रेल वे स्टेशनतिर लाग्यौ । सडक आसपासको वातावरण, भवन तथा सडकको जवानी देख्दा लाग्यो, चीनको तीन दशकको लोभलाग्दो जवानी र वैभवले संसारलाई उछिनेको छ । हामी उसको वान वेल्ट वान रोडको चर्चा सुनिरहेका छौ, वास्तवमा उसको जल, थल र वायु मार्गले संसार त्यसै जोडेको रहेनछ । यसैलै एउटा देउडा गीत गाई दिएँ–

कस्मेटिकका डिब्बा जइथा, सडक–शहर देखिदा छन्
जल– थल– हवाइ यात्रा, कइ दिन बन्या हुन् ?
हामी रेल वे स्टेशनमा पुगेर मिस किमलाई पख्र्यौ । हुस्सु लागेकै थियो, सितलहरका कारण सिमसिम पानी पर्न थाल्यो । मुटु छुने वेइजिङको हावाले चिसो लाग्न थालेपछि होटलतिर छि¥यौ । बसिवियालो गर्दै रातो च्याउको तरकारी खायौ ।

चिनियाँ समयअनुसार २ः३० बजे मिस किमसँग भेट भयो । उहाँले हाम्रो टिकट ल्याएर दिनुभयो । टिकट तथा पासपोर्ट चेक गरेपछि लिफ्ट चढेर माथिल्लो तला उक्ल्यौ । पर्खने ठाउँमा कुर्सी मसाजको आनन्द समेत लियौ । रेल चढ्ने बेला आयो, रेलतिर लाग्यौ । रेलको डिब्बा खोज्दै जाँदा निकै पछाडि रहेछ, १३ नम्वर डिब्बाको ७ र ८ नंं. कोठा । हाम्रो दुई जोडी एक कोठा र अरु तीन जना अर्को कोठामा पस्यौ ।

रेल गुडे पनि शहर छोडेको देखिएन । राति अवेरसम्म पनि झ्यालबाहिर हेर्दा जतापनि उस्तै उस्तै शहर देखिन्थ्यो । लाग्दछ, यो सब एउटै योजनामा निर्माण भएको हो । उनीहरू यति ठुला घर किन बनाउँछन् ? तुल्सीदासजीको जिज्ञासा थियो । मैले भने, ‘यति धेरै ठुलो जनसंख्यालाई व्यवस्थापन गर्न प¥यो नि !’

साँझको खाना खान चार डिब्बा क्रस गरेर अगाडि पुग्यौ । प्रतिव्यक्ति ४५ यानमा चिनियाँ खाना खायौ । त्यतिबेला अनुभव भयो कि अरुहरू साधारण डिब्बामा यात्रा गरिरहेका रहेछन् । हामीहरू वातानुकुलित कक्षमा रहेछौ ।

विहान उज्यालो भइसकेको थियो । हामी डाङडुङ शहर पुग्यौ । बेइजिङबाट ११३२ कि.मि. को यात्रापछि हामी डाङडुङ शहरमा पुग्यौ । डाङडुङ चीन र कोरियाको सीमाना रहेछ । यो शहरले कुटनीतिक इतिहासमा नाम कमाएको छ । सन् १९५५ मा दोस्रो विश्व युद्धपछि स्थापित असंलग्न आनदोलनको चौथो सम्मेलन यसै शहरमा समपन्न भएको थियो ।

रेल निकैबेर रोकियो । यताउता सोधपुछ गरेपछि थाहा भयो कि हामीले सामान लिएरै चीनको अध्यागमनमा जानु पर्ने रहेछ । त्यहाँको आवश्यक प्रक्रिया पुरा गरी पुनः रेलको उही डिब्बामा पस्यौ ।

प्योङ्योङको स्वागत
रेलले डाङडुङको पुल तरेपछि पुनः रोकियो । चेक जाँच गर्न कोरियाका सुरक्षाकर्मीहरू आए । उनीहरूले हामीलाई सलाम गरे अनि सोधे– ‘तपाईहरू यात्री हो ?’

‘हामी नेपालका समाजवादी पत्रकार हौ र हामी कोरिएन एशोसिएसन अफ सोसिएल साइन्टिक्सको निमन्त्रणामा प्याङ्योङ भ्रमणमा जाँदैछौ’ भन्यौ । हामीले यति भनेपछि हाम्रो विशेष चासो लिएर उनीहरूले हाम्रो हेरचाह गरे । हाम्रो पासपोर्ट लिएर छाप लगाई हामी बसेकै ठाउँमा पु¥याए । हाम्रो ल्यापटप, मोवाइल र क्यामरा अन गर्नुहोस् भने । अन ग¥यौ, यसो हेरे एकछिन । राख्नुहोस् भन्दै मुस्कुराएर गए ।

रेल करिव ३ घण्टासम्म रोकियो । ढोकामा ओहोर दोहोर गरिरहने कोरियाली युवतीसँग प्रति पाकेट २६ यान पर्ने चाउचाउ किनेर खायौ । जब रेल कोरियाली भूमिमा अगाडि बढ्यो, कहीँ धान काटेको, कहीँ धान काट्दै र कहँी चुट्दै गरेको देख्यौ । त्यो क्रम प्याङयोङ पुग्दासम्म देखियो । प्रायःले कोरियामा खेती कम हुने र खान नपुग्ने विश्लेषण गरेको सुनिन्थ्यो, त्यो बिलकुल सत्य रहेनछ भन्ने कुरा आफ्नै आँखाले देख्यौँ । सायद बढी भएको अन्न चीन र रुसमा निर्यात हुन्छ कि जस्तो पनि लाग्यो । हामीहरूबीच कवितामा फुर्न थाल्यो– रेलैमा सरर, उनको यादमा ।

यहाँ निकै धेरै उपत्यकाहरू रहेछन् । एक उपत्यकाबाट अर्को उपत्यकामा जानलाई सुरुङ मार्ग भएर रेल छिर्ने र निस्कने गर्दथ्यो । निकै पर–परका क्षितिजबाट चुरे पहाडहरू देखिन्थ्ये । पहाडको काखमा स–साना साधारण र चिटिक्कका गाउँहरू देखिन्छन् । गाउँहरू योजनाबद्ध रूपमा निर्माण गरिएका देखिन्छन् । प्रत्येक गाउँमा विद्यालय, स्वास्थ्य चौकी र सुरक्षा चौकी स्थापना गरिएको देखियो । त्यस ठाउँमा कोरियाका प्रथम राष्ट्रपति किम इल सुङ र कोरियाली जनताका महान नेता किम जोङको तस्वीर उच्च प्रथामिकताका साथ राखिएको देखिन्थ्यो ।

गाउँतिर आउजाउ गर्ने सडक कच्ची छन् । थोरै गाडीहरू गुडेको देखिन्छ । सडक तथा रेलको लिग आसपास दुवैतिर रुख रोपिएको देखियो । यो योजनाबद्ध विकासको प्रतिफल हो । अधिकांशः कोरियन जनताले साइकल चलाएको देखियो । जसले पनि देशका नेताहरूको तस्वीर अंकित लकेट छातीमा लगाएको र प्रायः किसान समेत ड्रेसबद्ध भएको देखियो । अझ उनीहरूले खेतमा झरेको धान टिपिरहेको र उठाउन नमिल्ने अवस्थाको धानलाई कुखुरा, हाँसको खोरसहित ल्याएर चराइरहेको देखियो । यहाँ अन्नलाई खेर नफाल्ने र भू–उपयोग नीति अनुसार बस्ती तथा खेती गरेको देखियो । यसले मलाई तीन देउडा गीत लेख्न प्ररित ग¥यो ।

आइ पुग्यौ नेपाली, रेलै चढेर
दिल बस्यो कोरिया, भूगोल हेरेर ।
धानको वाला झुलेका, भू–उपयोग गरेका
श्रमजीवी रयाछन्, यसै भूगोलका ।
एकै खालको बस्ती देख्यौ, लवाईखवाई उस्तै
योजनावद्ध विकास छ, दिल–दिमागजस्तै ।

भौतिक रूपमा म कोरियामा थिएँ, तर मन मेरो आफ्नै सालनाल गाडेको क्षेत्र कर्नालीमा थियो । नेपालको कर्नाली क्षेत्रमा सुरक्षित कर्नाली बस्ती विकास कार्यक्रम र आवासीय विद्यालयबारे अध्ययन तथा पैरवी गरेको सम्झना आयो । बस्ती विकास कार्यक्रमलाई मेरै सुझावअनुसार कर्नाली प्रदेश सरकारले ‘मुख्यमन्त्री बस्ती विकास कार्यक्रम’ नै घोषणा गरिसकेको अवस्था छ । यस्तै कर्नाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि आवासीय विद्यालय कर्नालीका पाँच दुर्गम जिल्लामा शुरुमा १/१ वटा परिक्षण परियोजनाको रूपमा शुरु गर्ने भएको छ ।

अँ, म भन्दै थिएँ, हामी साँझको ६ः५५ बजे कोरियाको राजधानी प्याङ्योङ रेल स्टेशनमा उत्र्यौ । यो डाङडुङदेखि १६९ कि.मि, टाढा रहेछ । नेपाली समयअनुसार दिउँसोको ३ः४८ बजीरहेको थियो । हाम्रो भ्रमण दललाई मिस्टर पाक र मिस लीले स्वागत गर्नुभयो । हाम्रो भ्रमण दलको फोटो खिचियो । अनि हामीलाई तीन वटा ट्याक्सीबाट होटल कोरियोमा पु¥याइयो । यो होटल ४५ तलाको रहेछ । हामीलाई २३ औ तलामा बस्ने व्यवस्था गरिएको रहेछ ।

हामीलाई साँझको स्वागत डिनर कोरिएन एशोसिएसन अफ सोसिएल साइन्टिक्सका उप–महानिर्देशक चोय काङले दिनुभयो । उहाँले यसै वर्षको साउन २० गते नेपालको ग्रीनवीच होटलमा आयोजित ‘जुछे विचारधारामा आधारित स्वतन्त्रता, शान्ति तथा समृद्धि’ विषयक कार्यशालामा विशेष अथितिको रूपमा भाग लिनुभएको थियो । उहाँसँग अनौपचारिक भलाकुसारी गर्दै साँझको खाना सँगै खायौ । क्रमशः….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here