– चन्द्रप्रकाश बानियाँ
नेकपाका अध्यक्ष प्रचण्डसहित देशका वर्तमान गृहमन्त्रीबाट हालसालै म्याग्दी जिल्लाको सदरमुकाममा भएको ‘शाही सवारी’को चर्चा अझै सेलाइसकेको छैन । हेलिकोप्टर यात्रा, तातोपानीकुण्डको डुबुल्की, गलेश्वर महादेवको पूजा, अर्चना र आरती गर्दैगरेका दृश्यहरूको सचित्र–समाचारहरूले आजपर्यन्त सामाजिक सञ्जालहरू भरिँदै छन् ।
गाउँघरतिर अन्नपात राख्न बनाइने चोयाका ‘कोठा’ (झ्याप) जस्ता छन्द नमिलेका शारीरिक ढाँचा र भद्दा थलथले भुँडीवाल नेताहरूले जलविहार गर्दै गरेका दृश्यलाई जलगैडासँग तुलना गरिएका व्यङ्ग्य परिहासको लेखोटहरू र तातोपानी कुण्डमा प्रवेश गरिदिने निगाहका कारणले सर्वसाधारणहरूमा कुण्डप्रति बढेको आकर्षणको लागि गरिएका हर्षबढाईं र कृतज्ञताका उद्गारहरू पनि फेसबुके भित्तामा बाक्लै देखिदैछन् । सम्भवतः यो वर्षभर म्याग्दीको सदरमुकाम वरपरको वातावरण नेताजीहरूको जादुमय क्रिडाबाट सम्मोहित रहनेछ । जयगान र गुणगानका अखण्ड भजनहरू गाइनेछन् र नेताजीहरूको आदर्श पाइलो पछ्याउने प्रतिश्पर्धात्मक प्रयाशहरूले निरन्तरता पाउने छन् ।
व्यसन र व्यवशाय रोज्न छान्न मानिस स्वतन्त्र हुन्छ । आफ्नो जीवनरूपी गाडी कुदाउने सडक मानिस स्वयम आफैले निर्माण गर्नुपर्छ । यो सिद्धान्तको कुरा हो । व्यवहारमा भने सबै मानिसहरूलाई त्यस्तो अवसर जुट्दैन । मनखुसीले जीवन यापनको बाटो आफै रोज्न पाउदैनन् । घर, परिवार, समाज, आफन्त, समय, सीप, क्षमता र वाध्यताले पनि मानिसलाई अनिश्चित बाटोमा हिड्नुपर्ने हुन्छ । व्यापारिक सोख भएको मानिस नोकरीमा लाग्छ, नोकरशाहीको सपना देख्ने मानिस व्यवशायी बन्छ । स्वेच्छाले होस्, वा विवशता वाध्यताले नै किन नहोस् जुन व्यवशायमा लागिन्छ त्यसमा किञ्चित समय, श्रम, क्षमता र साधनको उपयोग भैसकेपछि त्यसैमा रमाउनुपर्ने हुन्छ । व्यवशाय अनुकूल आफूलाई रूपमान्तरित गर्नुपर्छ । आफ्नो पूर्व रहर वा रुचिको बली चढाउनुपर्ने हुन्छ ।
रहर, वाध्यता वा आकस्मिकताले नै किन नरोजिएको होस्, व्यवशाय वा धन्दा अनुरूपको चरीत्र निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि चाहिने योग्यता, क्षमता र सीप आर्जन गरेर मात्र पुग्दैन । व्यवशायिक धर्म इमान्दारितापूर्वक निर्वाह गर्नुपर्ने हुन्छ । व्यवशायमा अन्तर्निहित आदर्श र मर्यादाहरूको परख गर्नुपर्ने र ख्याल राख्नुपर्ने हुन्छ । आफ्नो आचरण कमसेकम पेशाअनुकूल बनाउनै पर्ने हुन्छ । नेपालका कम्युनिष्टहरूले राजनीतिलाई पेशा बनाउने परम्परा बसालेका छन् । राजनीतिलाई पेशा मानिसकेपछि आफूले अवलम्वन गर्ने राजनीतिको दार्शनिक पक्षलाई हेरेर आफूभित्र त्यस अनुकूलको चरीत्र निर्माण गर्नुपर्छ । चरीत्र निर्माण गरेर मात्र पुग्दैन, त्यसको प्रदर्शनी समेत गर्नुपर्छ । अर्थात व्यवहारमा पनि सिद्धान्ततः अवलम्वन गरिएकोे आदर्श झल्कनुपर्छ । कम्युनिष्ट हुँ भनेर दावा गर्नेहरूले कम्युनिष्ट आदर्श पछ्याउनु पर्छ । व्यवहार, पम्परा, जनता वा समाजलाई देखाएर आदशचर््यूत हुनु हुदैन । त्यो मामालामा म्याग्दी भ्रमणमा निस्केका नेताहरू कमजोर सावित भएका छन् भन्नु आलोचना वा आग्रह मानिन्छ जस्तो लाग्दैन ।
नेताजीहरूको म्याग्दी भ्रमण कुनै विशेष उद्देश्यलक्षित भएजस्तो देखिएन । क. सीता दाहालको प्राकृतिक चिकित्साको निर्हुँ सार्वजनिक गरिएको भए पनि त्यो भन्नका लागि मात्र भनिएको हो भन्ने प्रमाणित भएको छ । किनकि प्राकृतिक तातोपानीको थेरापीबाट अपेक्षित लाभ लिने हो भने कम्तिमा पनि एक हप्ता कुण्डमा नियमित डुबुल्की मार्नुपर्ने हुन्छ भन्ने स्थानीय मान्यता रहेको छ । थेरापीको डोज पुगेन भने रोग झन वल्झन्छ पनि भनिन्छ । सम्बन्धितहरूबाट त्यो कुराको जानकारी नेताहरूलाई अवश्य गराइएको हुनुपर्छ । नेताहरूमा न तातोपानीको उपचार लिने उद्देश्य नै थियो न स्थानीय मान्यतामै विश्वास थियो । राजधानीमा सुवधा सम्पन्न ‘हिलिङ्ग सेन्टर’हरू बग्रेल्ती छन् । ‘स्टिम वाथ’ लिने सुविधाहरू उपलब्ध छन् । प्राकृतिक तातोपानीले दिने थेरापी पनि त्यही हो भन्ने कुराको जानकारी नेतागणमा थिएन भन्न मिलेन । त्यसैले विदा मनाउने उद्देश्यले मात्र म्याग्दीको शाही सवारीको आयोजना गरिएको थियो । तर छुट्टी मनाउनकै लागि सरकारी साधनश्रोतको दुरूपयोग गर्ने कुरा नैतिकताको दृष्टिले प्रश्न उठ्ने र औलो उठाउन मिल्ने विषय हो भन्ने कुराको अलिकता पनि ख्याल गरिएन कि भन्ने आभास मुखर आलोचकको भूमिकामा देखिन थालेको समाजले गर्नु स्वभाविक हो ।
मान्छे स्वतन्त्र छ तर निरपेक्ष स्वतन्त्रताको पैरवीको कुनै अर्थ रहँदैन । स्वतन्त्रताको पनि सीमा हुन्छ । मूलतः आफूले उठाएको जिम्मेवारी र स्वीकारेको जीवनादर्शले स्वतन्त्रताको परिधि निश्चित गरिदिन्छ । मठ मन्दिरहरू निश्चय नै पूजा अर्चनाकै लागि बने÷बनाइएका हुन्छन् । गलेश्वर महादेव विगत आधा दशकयता भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा विकसित हुँदै आएको छ । देवस्थलको सम्बन्ध आस्थासँग मात्र होइन, धर्मविशेषसँग पनि जोडिएको हुन्छ । माक्र्सवादी भाषामा देवताको स्तुति, आराधना र पूजाले सामन्तवादी चिन्तनको प्रतिनिधित्व गर्छ । मानिसलाई पुरुषार्र्थी होइन, भाग्यवादी र निगाहमुखी बन्न सिकाउँछ । विडम्बना, धर्मलाई अफिमसँग तुलना गर्ने माक्र्सका धुरन्धर चेला प्रचण्डले गलेश्वर महादेवको आरती उतार्दै गरेको तस्वीर सार्वजनिक भयो । प्रचण्ड, पुष्पकमल दाहाल मात्र होइनन् । उनी हजारोैं लाखौं कम्युनिष्टहरूको आदर्शपुरुष हुन् । उनलाई रोलमोडल मान्नेहरूको संख्या निकै ठूलो छ । उनको चेष्टाले कतिलाई ठेस पु¥याउने छ भने कैयौं छिपछिपे ज्ञान राख्नेहरूको लागि त्यो अनुकरणीय उदाहरण बन्ने छ । अर्थात उनकै कार्यकर्ताहरूमा आउनसक्ने सांस्कृतिक विचलनको चिन्ता उनले गर्नु आवश्यक थिएन र भन्ने स्वाभाविक प्रश्न मानिसहरूको मनमा पन्पिएको छ ?
अवश्य त्यस्तो प्रश्न उठेको हुनुपर्छ । उठेको मात्र होइन, स्वयम प्रचण्डको कानसम्म पुगेको हुनसक्छ । आम जनभावनाको सम्मानको लागि सार्वजनिकरूपमा आरतिको प्रदर्शन गरिएको प्रष्टिकरण त्यसैकारणले आएको होला । अवश्य, नेताले जनताको भावनाको सम्मान गर्नुपर्छ । जनतासँग सधै साथमा रहनुपर्छ । आम जनतालाई एक फर्लाङ्गभन्दा टाढै रोकेर एक्लै कुण्डमा डुबुल्की मार्ने अनि मन्दिर परिसर जनसून्य बनाएर महादेवको पूजा आरति गर्नेहरूले जनतासँग एकात्मकता कायम गरेको हो भन्नु भन्दा ठूलो आडम्बर अरु के हुन सक्ला र ? अर्को कुरा अवश्य नेता जनतासँगसँगै रहनुपर्छ तर भीडको पछाडि लाग्ने होइन, अग्रपंक्तिमा बसेर नेतृत्व दिनुपर्छ । भीडको पछि लतारिनेलाई नेताको पगडी दिनु युक्तिसंगत मानिदैन । हुनत नेपालमा जति पनि राजनीतिक आन्दोलनहरू भएका छन् तिनीहरूमध्ये सातसाले काँगे्रसक्रान्ति एउटालाई छोडेर बाँकी सबैमा नेतृत्वभन्दा नेपाली जनता एक कदम अगाडि रहेको कुरा सत्य हो । ६२÷६३ को आन्दोलनमा नेताहरूले वा पार्टीहरूले होइन, जनताले सडकबाट गणतन्त्रको आवाज उठाएको हो । नेता र पार्टीहरूलाई लतारिएरै गणतन्त्रसम्म पुग्न वाध्य पारेको हो । सायद त्यही उदाहरणले नेकपाका अध्यक्षलाई जनताको पछिपछि हिड्नुपर्छ भन्ने ज्ञान दिएको पनि हुनसक्छ !
नेताजीहरूको भ्रमणका कारणले तातोपानी कुण्ड र गलेश्वर महादेवको महमिा बढेको छ । जनआकार्षण बढेको छ । गलेश्वर र तातोपानी कुण्ड सञ्चालक गुठीहरूलाई फाइदा पु¥याएको छ । आश्रित व्यवशायीहरूले नाफा कमाउलान् । अर्थात स्थानीय समाज कुनै न कुनै रूपमा लाभान्वित हुनेछ । तर बिर्सन नमिल्ने कुरा के हो भने यो एक्काइसौं शताब्दी हो । विज्ञान र प्रविधिले असाधारण उचाई प्राप्त गरेको समय हो । प्राकृतिक तातोपानीको कुण्डलाई ‘स्वास्थ्य पर्यटन’ को केन्द्र बनाउने कल्पना मानिसहरूलाई प्रितिकर लाग्न सक्छ तर प्राकतिक तातोपानीको आनन्द उठाउने कुरा एउटा हो, त्यसबाट स्वास्थलाभ हुने कुरा अर्को हो । सर्वसाधारण जनताले आस्थापूर्वक महादेवको पूजा आराधना गर्नु र मनोकामना पूराहुने अपेक्षा राख्नु एउटा कुरा हो, एउटा उचो कदको कम्युष्टि नेताले आरतिको नौटङ्की गर्नु अर्को कुरा हो । ढँटुवारे संस्कृतिको प्रदर्शन मात्रै हो कि सांस्कृतिक विचलनको नमूना हो भनेर खुट्याउन सजिलो रहेन । हो, जनभावनाको कदरस्वरूप मन्दिर जान सकिन्थ्यो, पूजा आरतिको विधिव्यवस्था अवलोकन गर्न सकिन्थ्यो । आफैले आरति उतार्नुपर्ने के जरुरत थियो र ? गलेश्वरप्रकरणपछि वराहक्षेत्र पुगेर ‘भैसीपूजा’ गरिएको हल्ला केवल हल्ला मात्र थिएन, साँचो थियो भनेर कसरी नपत्याउने अब ?-जनधारणा साप्ताहिकबाट


















