पूर्वराजा र वर्ग रूपान्तरित कमरेडहरू !

959

–निमकान्त पाण्डे

गजबकै संयोग मान्नु पर्दछ । कमरेडहरू बुर्जुवा वर्गमा रूपान्तरित भएका छन् भने बुर्जुवा राजा सामान्य नागरिकमा रूपान्तरित भएका छन् । नागरिकमा रूपान्तरित भएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंको अवसरमा दिएको सन्देशले नेपालको राजनीतिलाई नै तरंगित बनाएको पाइयो । दशैंको सन्देशमा पूर्वराजाले देशमा व्याप्त विसंगतिप्रति चिन्ता व्यक्त गरेको स्पष्ट पाइन्छ । वास्तवमा देशको अवस्थाप्रति सबै क्षेत्र चिन्तित छ । स्वयम् राजनीतिक दलका नेताहरू नै देश डुब्न लाग्यो भनेर व्यवस्थापिका–संसदमा मन्तव्य दिनुपर्ने अवस्था विकसित भएको छ । त्यसैमा पनि देशमा दुईतिहाइ बहुमतको सरकार निर्माण गरेको पार्टीका वरिष्ठतम् नेताबाट त्यस्तो मन्तव्य आयो ।

यसले पनि देशको अवस्था कस्तो छ भनेर बुझ्न सजिलो बनाएको छ । सरकारमा पुगेका मन्त्रीहरू वा स्वयम् प्रधानमन्त्रीले चाहीं देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्नु त कता हो कता अरुले देखाएको देशको दुरावस्थालाई नै बुझ्ने स्वीकार गर्ने पक्षमा देखिंदैनन् । देशको अवस्थामा व्यापक सुधार भएको छ भन्दै आफैमा दंग पर्ने मन्त्रीहरू र प्रधानमन्त्रीको रवैयाले देशको अवस्था थप संकटग्रस्त हुने संकेत गरिरहेको बुझ्न सकिन्छ ।

हुन त पंक्तिकारलाई राजावादी भनेर आरोप पनि लगाइएला । तर साँच्चै पूर्वाग्रह नराखेर भन्ने हो भने पूर्वराजा ज्ञानेन्द्रले दशैंको अवसरमा दिएको शुभकामना सन्देशले नेपाली जनताको भावनाको प्रतिनिधित्व गरेको छ । पूर्वराजाको दशैं सन्देशमा जनताको भावना नसमेटिएको भए निर्मल निवासमा पूर्वराजाबाट टिका लगाउन जनताको लामबन्दी अवश्य हुने थिएन । सामाजिक सञ्जालहरूमा देखिएका टिप्पणी र समाचारहरूबाट बुझ्न सकिने कुरा के हो भने पूर्वराजाले दशैं सन्देशमा दिएको सन्देशले नेपाली जनताको मन छोएको छ ।

निरंकुश राजतन्त्रको अन्त्य र निर्दलीय तानाशाही व्यवस्थाको अन्त्यका लागि पंक्तिकारले पटक–पटक जेल यातना भोगेको भए पनि देशमा राजतन्त्र आवस् वा गणतन्त्र रहोस् भन्ने तर्फ कुनै सरोकार राख्नुपर्ने आवश्यकता अब छैन । कारण गणतन्त्रवादीको आवरणमा राजा महाराजाहरूकै बुर्जुवा शैली अवलम्बन गरेर कम्युनिष्ट भनेका यस्ता हुन्छन् भन्ने नकारात्मक सन्देश दिने काम जो वर्तमान सत्तासीन कम्युनिष्ट नेताहरूबाट भइरहेको छ, यसलसे गर्दा राजतन्त्र रहे पनि वा गणतन्त्र रहे पनि जनताको निम्ति फरक नहुने अवस्था छ ।

राजतन्त्रका विरुद्धमा जनता सडकमा किन उत्रिएका थिए ? यो गम्भीर प्रश्न हो । वर्तमान सत्तासीन कम्युुनिष्ट नतेताहरूको जीवनशैली र उनीहरूमा देखा परिरहेको छिमेकीप्रतिको दलाली प्रवृत्तिले देशलाई नै संकटमा पु¥याइरहेको छ । कम्युनिष्ट नेताहरूको दुर्ईतिहाइको बहुमत सहितको सरकारले कस्तो काम गर्नुपर्ने हो ? यो बुझ्न सत्तासीन नेताहरूले सकिरहेका छैनन् । कम्युनिष्ट पार्टीको सरकारले देशको राष्ट्रिय स्वाधीनतालाई महत्व दिएर काम गर्नुपर्छ । जनताका आवश्यकताहरू पूरा गर्ने सोचका साथ काम गर्न सक्नुपर्छ । जनता महँगी, अभाव, तस्करी, भ्रष्टाचार र अशान्तिको पीडाबाट मुक्त हुन सकुन् भन्ने सोच सरकारको हुनु पर्दछ । यस्तो हुनका लागि कुनै पनि तन्त्र रोज्नुपर्ने आवश्यकता हुँदैन भन्ने सन्देश कम्युनिष्ट नेताहरूको सरकारले दिइरहेको छ ।

हुन त नेपालमा जुनसुकै तन्त्र भए पनि काम गर्ने व्यक्ति भनेको नेपालका नेताहरू नै हुन् । नेताहरूले नै कुन तन्त्रलाई लोकप्रिय बनाउने भन्ने कुरामा ध्यान पु¥याउनु जरुरी हुन्छ । राजतन्त्रमा राजावादीहरूले राम्रो काम गरेका भए राजाविरुद्ध सडकमा नाराबाजी अवश्य लाग्ने थिएन । राजा स्वयंले सडकमा उत्रिएर काम गरेर देखाउने अवश्य होइन । आज गणतन्त्रको अवस्था पनि राजतन्त्रको भन्दा फरक हुन नसक्नुको कारण के हो ? गणतन्त्रका हिमायतीहरूले बुझ्न जरुरी छ । किन राजतन्त्रकालका पञ्चहरूको भन्दा फरक अनुभूति जनतालाई दिन सकिएन ? सत्तासीन कम्युनिष्ट नेताहरूले आत्मसमीक्षा गर्न जरुरी छ ।

राजा, महाराजाहरूभन्दा कुनै पनि शैलीमा परिवर्तन गर्न नसकेका हालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायतका उच्च पदासिन व्यक्तिहरूका कारणबाट जनतामा व्यापक निराशा छाएको छ । छिमेकी देशहरूमा मितव्ययिताको अभ्यासमा लोभलाग्दो गरी कसरत भैरहेको देखिरहेका नेपालीहरूका सामु आफ्नो देशका शासकवर्गहरूको वर्ग रूपान्तरणको कसरत दुःखद हो । साइकल चढेर लोकप्रियता हासिल गरेका मदन भण्डारीकी पत्नीको हैसियतबाट देशको राष्ट्रपति जस्तो सम्मानित पदमा पुगेपछि जनताका बीचमा लोकप्रिय बन्ने कामहरू गर्नु त कता हो कता मुलुकवासीहरूलाई नै चकित तुल्याउने गरी बिलासी जीवन बिताउने चाहना व्यक्त गरेर शुभेच्छुकहरूलाई नै लज्जित बनाउने काम भइरहेको छ । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले विगतका प्रधानमन्त्रीबाट प्रयोग हुँदै आएका सुविधासमेत घटाएर देशमा लोकप्रिय गन्तव्य देखाएका छन् । यता हाम्रो देशमा पूर्वराजाहरूले समेत भोग नगरेका सुविधा भोग गर्ने दरिद्रता प्रदर्शन भैरहेको छ । जनतालाई करको भार थोपरेर नेताहरूले विलासी जीवन बिताउने चाहना राख्नु कति शोभनीय हो ? यो कार्यशैली कम्युनिष्ट दर्शनमाथिकै प्रहार होइन भनेर भन्ने अवस्था छैन । आगे सबैलाई चेतना भया ! – (जनधारणा साप्ताहिकबाट) – यो सामग्री साभार गर्दा स्रोत उल्लेख गरिदिन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here