नेपाली चलचित्रको कमाई र कलाकारको पारिश्रमिक

237

नेपाली चलचित्रको कमाई र खर्चको कुरा गरौ । ‘छक्का पन्जा ३’ ब्लकबस्टर, ‘नाई नभन्नु ल ५’ हिट, ‘रामकहानी, इन्टु मिन्टु लण्डनमा र जय भोले’ले औसत व्यापार गर्नु बाहेक अरु सबै चलचित्रको व्यापार दयनीय छ । नेपाल बाहिर पनि माथि उल्लेखित चलचित्रकै माग बढी छ, अरुको हल्ला मात्र बढी हो । हुनत, चलचित्र क्षेत्र हल्लै हल्ला गर्ने मानिसहरूको भीड लागेको स्थान हो । जहाँ, काम भन्दा कुरा चर्का हुन्छन् ।

माथि उल्लेखित चलचित्रको व्यापार हेर्दा पनि भन्न सकिन्छ, हाम्रो चलचित्र बजार कतीसम्म कमजोर हालतमा छ । यहाँ, चलचित्र चल्नु भन्दा बढी चलाइन्छ । वास्तविक रूपमा कमाउनु भन्दा बढी हल्लामा कमाइन्छ । तर, त्यसले कुनै पनि खालको फाइदा चलचित्र क्षेत्रलाई गर्दैन ।

चलचित्र निर्माण गर्न गाह्रो, रिलिज गर्न त्यो भन्दा गाह्रो, रिलिज भैसकेपछि जति शेयर आउँछ त्यो उठाउन झनै गाह्रो । अब, कलाकारलाई चलचित्रमा खेलाउन त्यो भन्दा पनि गाह्रो । औलामा गन्दा १० जना कलाकार पनि दर्शकले राम्रोसँग चिन्न नसक्ने खालका छन् । तीनै केही चिनिएका कलाकारकै वरिपरी निर्माता घुम्नुपर्ने वाध्यता छ । नामै नसुनेका र दर्शकले नपत्याएका कलाकार लिदा समस्या नै समस्या, नाम चलेका कलाकार लिनलाई नै समस्या । चलचित्र निर्माण साच्चिकै जटिल बन्दैछ ।

यसमा पनि नाफा भए त ठीकै हो, घाटा भयो भने कसैले पनि सहयोग गर्नेवाला छैन । बलिउडमा चलचित्र असफल हुँदा कलाकारले पारिश्रमिक नै नलिने, निर्माताले वितरकलाई पैसा फिर्ता दिने चलन बढिरहेको छ । नेपालमा त वितरकले फिक्समा चलचित्र किन्ने प्रचलन हिन्दीलाई मात्र छ, नेपाली चलचित्र चले पनि नचले पनि त्यसको प्रत्यक्ष असर निर्मातालाई नै हो ।

अहिले कलाकारको पारिश्रमिकको खबर यसरी चुलिएको छ कि, लाग्दैछ अब एउटा चलचित्र बनाउन १ करोडमा त कसैको पनि आँखा लाग्दैन । एउटै कलाकारलाई २० देखि ५० लाखसम्म पारिश्रमिक दिनुपर्ने भएपछि सुटिङमा नजाँदै १ करोड खर्च हुने अवस्था छ ।

नायक अनमोल केसीको ५ लाखबाट सुरु भएको पारिश्रमिक अहिले ५० लाखको हारहारीमा पुगिसक्यो । प्रदिप खड्काले अष्ट्रेलिया जान छाडेर खेलेको ‘प्रेमगीत’ले अहिले उनलाई सबैभन्दा महंगो नायक मध्येको एक बनाइदियो । म्यूजिक भिडियोबाट हिट हुँदा हुँदै पल शाहले ‘नाई नभन्नु ल ४’बाट सुरु गरेको करिअरमा चलचित्र चलोस् या नचलोस् पारिश्रमिक बढेको बढ्यै छ ।

नायिकाको हकमा पनि अहिले पारिश्रमिक चुलिएको छ । पूजा शर्माको ८ लाखदेखि १५ लाखसम्मको कुरा, साम्राज्ञी राज्यलक्ष्मी शाहको ५ लाख, १० लाख हुँदै १५ लाखको डिमाण्ड, साच्चै कलाकारको पारिश्रमिक चुलिएको छ । ५ लाख पारिश्रमिक नपाएर नायिका आँचल शर्माले चलचित्र नै नखेलेको कुरा पनि विर्सन सकिदैन । तर, कलाकारको पारिश्रमिक जसरी चुलिदो छ चलचित्रको व्यापार त्यही अनुसार खस्कदो छ ।

३ सय वटा चलचित्र खेल्दा कैयौ हिट त कैयौ असफल हुँदा नायक राजेश हमालले ३ लाख वरिपरीकै पारिश्रमिक लिएको खबर अहिलेका स्टारहरूका लागि गफ जस्तो लाग्न सक्छ । अहिले चलचित्र बनाउनु अघि कलाकारलाई चलचित्रमा खेलाउन नै मुश्किल छ । चलचित्र चलेन भने त्यसको जिम्मेवारी लिन तयार हुने कलाकार भेट्न नै मुश्किल छ ।

यसैले अहिले निर्माताहरू चलचित्रमा कलाकार लिन नै समस्या पर्न थालेको बताउन थालेका छन् । घाटी हेरेर हाँड निल्नुपर्छ भन्ने एउटा उखान नेपालमा खुबै सुनिन्छ । कलाकारले पनि चलचित्रको बजार र व्यापार हेरेर त्यही अनुसार पारिश्रमिक लिने कि जति भन्दिए पनि दिइहाल्छन् भन्ने प्रवृत्ति अपनाउने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here