सुनसरी / सुनसरीको दुहबीमा भएको फिदा हुसेनको हत्या प्रकरणमा बिहीबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर विरोधमा उत्रिएका मृतकका आफन्त र प्रशासनबीच सहमति भएको छ ।
परिवार, आफन्त, स्थानीयवासी, प्रशासन र सांसदहरूबीचको वार्ता सहमतिमा पुगेको हो । शवसहित धर्नामा बसेका मृतकका आफन्तका माग सरकारले सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।
हुसेनको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान ल्याइएको छ ।आफन्तले राखेका गृहमन्त्रीको राजीनामाबाहेकका विषयमा सहमति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।
आफन्तहरूले हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत संस्थामा छोरालाई जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेका थिए ।


















