विप्लवको शक्तिप्रदर्शनले दिएको सन्देश

96

काठमाडौं /  अर्ध भूमिगत रूपमा आफ्ना राजनीतिक गतिविधि अगाडि बढाइरहेको विप्लव नेतृत्वको नेकपाले यही मंसिर ८ गते काठमाडौमा भव्य जनसभा गरेको छ । पार्टी पुनर्गठनको अवसरमा आयोजना गरिएको जनसभालाई उक्त पार्टीले आफ्नो शक्तिप्रदर्शनका रूपमा पनि अथ्र्याएको छ ।

पार्टीका मुख्य नेता नेत्रविक्रम चन्द्र विप्लवको उपस्थिति विनै गरिएको कार्यक्रममा देखिएको जनसहभागिताले नेपालको राजनीतिमा वैकल्पिक क्रान्तिकारी शक्तिको भविष्य राम्रो छ भन्ने देखाएको छ ।

सशस्त्र युद्धमार्फत शान्तिप्रक्रियामा आएपछि आफ्ना सहकर्मीहरूले क्रान्तिलाई धोका दिएको आरोपसहित फरक धारमा उभिएको उक्त पार्टी र नेतृत्वलाई कतिपयले महत्वकांक्षी राजनीतिक निर्णयका रूपमा अथ्र्याएका थिए । मुल नेतृत्व शान्तिप्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा एउटा समूह बाहिर बसेर त्यसले जनसमर्थन पनि नपाउने र राजनीतिक आन्दोलनको स्वरूप पनि नलिने विश्लेषणकाबीच उक्त दलले राजधानीमा गरेको विशाल जनसभाले दृढ इच्छा शक्ति भए राजनीतिमा असम्भव केही हुँदैन भन्ने पुष्टि गरेको छ ।

सरकारले उक्त दललाई एउटा सानो राजनीतिक समूहका रूपमा हेरिरहेका बेला ठूला भनिएका दलहरूलाई समेत चकित बनाउने गरी नेकपाले हालै गरेको शक्तिप्रदर्शनले उक्त दल अब राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव पार्न सक्ने शक्तिका रूपमा देखिएको छ । जनतन्त्र, जनजीविका र सामाजिक न्यायको पक्षमा वकालत गर्दै आएको दल एजेन्डाका हिसाबले जनताको बीचमा यसै पनि लोकप्रिय नै थियो । तर एजेन्डसँगै शक्तिका हिसाबले पनि उक्त दलले आफूलाई अब्बल सावित गरेको छ।

यसले एकातर्फ वर्तमान राजनीतिक व्यवस्थाबाट दिक्क भएका जनतालाई वैकल्पिक क्रान्तिकारी शक्तिका रूपमा शक्ति आर्जन र जनसमर्थनका लागि थप सहज बाटो देखाइदिएको छ भने अर्काेतर्फ शक्तिशाली प्रतिपक्ष नहुँदा लगामबिनाको घोँडा जस्तै हिँडिरहेको सरकारलाई पनि कुनै गम्भीर र मुलुकको हित विपरितको निर्णय गर्दा एक पटक सोच्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ ।

कहिलेकाहीँ राजनीतिमा जनसमर्थन र शक्ति कमजोर हुन सक्छ तर एजेन्डा बलिया र जनपक्षीय भए पनि त्यसले छिट्टै जनसमर्थनलाई आकर्षित गर्दै शक्ति आर्जन गर्न सहयोग गर्छ । जस्तो सशस्त्र युद्धको सुरुमा निकै सामान्य अवस्थाबाट सुरु भएको संघर्षले पछि निकै ठूलो स्वरूप धारण गर्दै राज्यलाई नै चुनौति दिन सफल भयो ।

विप्लव नेतृत्वको नेकपा पनि जनसमर्थनका हिसावले सुरुवाती चरमा केही कमजोर नै थियो । तर छोटो अवधिमा उक्तदलले प्राप्त गरेको जनसमर्थनले उक्त दल एउटा वैकल्पिक क्रान्तिकारी शक्तिका रूपमा स्थापिन हुने प्रायः निश्चित देखिएको छ ।
परम्परागत राजनीतिक शक्तिको विकल्पका रूपमा गठन भएका केही वैकल्पिक शक्तिको अवस्था यथास्थितिमै रहेका बेला विप्लव नेतृत्वको नेकपाले जुन किसिमको जनसमर्थन प्राप्त गरेको छ, त्यसले नेपालमा वैकल्पिक शक्तिको आवश्यकतालाई त पुष्टि गरेको छ तर त्यो वैकल्पिक शक्ति जनपक्षिय र क्रान्तिकारी गतिको हुनुपर्ने कुरा पनि देखाएको छ । प्रजातान्त्रिक मान्यतामा आधारित वैकल्पिक शक्तिहरू अघि बढ्न नसकिरहेका बेला साम्यवादी मान्यता बोकेको विप्लव नेतृत्वको नेकपाले प्राप्त गरिरहेको उत्साहजनक जनसमर्थन त्यसकैको संकेत हो ।

राजनीतिमा राज्यसत्ताको बागडोर सम्हालेको शक्ति बलियो र सत्ता बाहिर बसेर संघर्ष गरिरहेको शक्ति केही कमजोर देखिनु स्वभाविक हुन्छ । जसरी विगतमा तत्कालीन विद्रोही पक्ष र सरकारकै उदाहारण हेर्नेहो भने पनि त्यस्तै देखिन्छ । तर जब सत्ताले आफूलाई शक्तिको बलमा अन्धो बनाउँदै लैजान्छ र सत्ताबाहिर रहेको शक्तिमाथि हैकम जमाउन थाल्छ, त्यसको नतिजा कालान्तरमा प्रतिउत्पादक भएर जान्छ ।

जसरी १० वर्षे युद्धमा माओवादी शक्तिशाली ढंगले उदायो । अहिले पनि राज्य सत्ताले सत्ता बाहिर क्रान्तिकारी आन्दोलनमा रहेको शक्तिमाथि दमनको नीति अवलम्बन गर्यो भने, त्यसको परिणाम पनि अवश्य पनि सकारात्मक हुनेछैन् । जुन कुरा विगतले पनि हामीलाई सिकाएको छ । त्यसैले वर्तमान सरकार आन्दोलनरत शक्तिसँग जतिसक्दो छिटो सहमति र सम्झौताकै माध्यमबाट निकास खोज्नतर्फ लाग्नुपर्छ । यदी विगतको अनुभव र वर्तमानमा उक्तदलले प्राप्त गर्दै गएको जनसमर्थन र राजनीतिक शक्तिलाई वेवास्ता गर्दै सरकार दमनकै नीतिमा अघी बढ्यो भने त्यसले राम्रो परिणाम नदिने निश्चित छ ।

वर्तमान सरकार आफै पनि सर्वहारा आन्दोलनको जगमा उभिएकाले विगतमा आफैले गरेका प्रतिवद्धता अनुसार जनपक्षीय काम गर्दै आन्दोलनरत पक्षलाई समेत साथमा लिन सकेमात्र वर्तमान सरकारका लागि अनुकूल वातावरण सिर्जना हुनेछ अन्यथा त्यसको परिणाम निकै गम्भिर हुने निश्चत छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here