पर्वत / कुश्मा नगरपालिका वडा नं १ पाङस्थित कालीगण्डकी किनारमा रहेको माँझी बस्तीमा खानेपानीको वर्षौंदेखि अभाव कायमै छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गा बजार र माँझी बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय समस्यामा परेका छन् । सो बजारमा व्यवसायका लागि सानाठूला गरी करीब तीन दर्जन घरटहरा छन् । नजिकै करीब १५० परिवारको माझी बस्ती छ । बस्तीका लागि २० एमएमको पाइपमा पानी ल्याइएको भए पनि हिउँद लागेसँगै पानी कम हुँदा दैनिकजसो झगडासमेत हुने गरेको छ ।
बस्तीदेखि करीब ४०० मिटरको दूरीमा पानीको मुहान छ । पानीको स्रोत कम हुँदा र वितरण व्यवस्थित नहुँदा यहाँ खानेपानीका लागि झगडा हुने गरेको हो । ‘बिहानदेखि साँझसम्म कुनै बेला पानी सजिलै थाप्नै पाइँदैन’, स्थानीय सुमित्रा थापामगरले भन्नुभयो, ‘यत्रो बजारलाई एउटा धारा छ । राति २ बजे उठेर भाँडा नभरे घाँटी भिजाउने पानी पनि पाइँदैन ।’ चिसो मौसममा पानी थाप्नका लागि राति २ बजे उठ्दा खुट्टा सुन्निने र पेट फुल्नेलगायतका समस्या हुन थालेको उहाँले गुनासो गर्नुभयो ।
मालढुङ्गा भएर दैनिक हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्छन् । धौलागिरिका सबैजसो जिल्ला सदरमुकाम पुग्ने सवारी साधन यहाँ रोकेर चिया नास्ता खाने ठाउँ पनि हो । बिहानदेखि बेलुकासम्म सयौँ यात्रु यहाँ विश्राम लिन्छन् । सार्वजनिक धारा एउटा मात्रै छ । त्यसैले पानी थाप्नै हानथाप हुन्छ ।















