विधानअनुसार १२ औं महाधिवेशन गर्नुपर्ने नेविसंघ पौडेल समूहको माग

222

 काठमाडौं / नेपाल विद्यार्थी संघका सह–महामन्त्री हरिहर शर्माले संघको विधानअनुसार १२ औं महाधिवेशन गर्नुपर्ने जनाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा वरिष्ठ नेता रामचन्द्र पौडेल समुह विद्यार्थीले पत्रकार सम्मेलन गरेर संघको विधान सम्मेलन गरेर मात्रै १२औं महाधिवेश गर्नुपर्ने माग गरेका हुन ।  उनले भने,‘बहुमत केन्द्रिय सदस्यहरुको भावना र विधानको विपरित तोकिएको १२ औं महाधिवेशनको मिति आँफैमा कमजोर छ, घोषणा गरेको मिति महाधिवेशन गर्नको लागि होईन, मैदानबाट आएका नेविसंघका प्रतिनिधिहरुबाट आगामी नेतृत्व चयन गर्नुपर्छ भन्नेमा हामी छौं, कांग्रेसको नर्सरीको रुपमा रहेको नेविसंघलाई व्यक्तिगत झुण्डको स्वार्थका आधारमा प्रयोग गरिँदैछ, जुन कुरा हामीलाई स्वीकार्य छैन् ।’

परिमार्जित विधानसमेत विद्यार्थीको हितमा नभएको सहमहामन्त्री शर्माको आरोप छ । उनले भने,‘हालै परिमार्जित भएर आएको संघको विधानले पनि विद्यार्थीको हित गर्न सकेको छैन्, निर्वाचित स्ववियु सभापति र इकाई अध्यक्षहरुले स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनु पाउनुपर्छ, दोस्रो कुरा अधिवेशन सम्पन्न गराउने जिल्ला अध्यक्ष र इकाई अध्यक्षहरु ३२ वर्ष माथिकाले पनि महाधिवेशन प्रतिनिधि हुनु पाउनुपर्छ भन्ने हाम्रो माग हो, नेतृत्वले यसमा ध्यान दिएको नपाईएपछि हामी आन्दोलित हुन बाध्य भएका हौं ।’

प्रदेश अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्थाले प्रदेशभित्रका थोरै प्रतिनिधि भएका जिल्लाहरु छुट्ने र धेरै प्रतिनिधि भएको जिल्लाको मात्रै सहभागिता हुने हुँदा यसले संगठनमा असमानताको स्थिति र्सिजना गर्ने पनि उनको चिन्ता छ । ‘त्यसैले यो व्यवस्थालाई सच्याउनुपर्छ ।’–उनले थपे ।

जारी विज्ञप्तीमा भनिएको छ,‘नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्नको लागि सम्पूर्ण आर्थिक व्यवस्थापन हाम्रो मातृ पार्टी नेपाली कांग्रेसले गर्ने परम्परा रहेको र चन्दा संकलन गर्ने नेविसंघको कुनै नीति समेत नरहेको हुँदा संगठनलाई बद्नाम गर्ने मनसायले कहीकतै संघका नाममा चन्दा मागेको खण्डमा सो चन्दा नदिनुहुन सबैमा जानकारीकासाथ अपिल गर्दछौं ।’
महाधिवेशनको विकल्प महाधिवेशन नै भएको भन्दै उक्त समुहले तोकिएको समयमा सबै प्रक्रिया पूरा गरि महाधिवेशन गर्न माग गरेको छ । साथै, वर्तमान सरकारको कदमहरुका बिरुद्धमा नेविसंघ निरन्तर रुपमा उत्रिरहेको जानकारी पनि गराएको छ ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य तेज बाँनिया, कल्पना खड्का र भोला नेपालले संघको महाधिवेशन समयमै हुनुपर्ने र विवादलाई अन्त्य गरि विद्यार्थी आन्दोलनलाई माथि उठाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here