अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने ?

388

शरीरका अङ्गहरू र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणका साथै सञ्चारसमेतबाट सिर्जना भएको अवरोधसमेतले दैनिक क्रियाकलाप सामान्यरूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई अपाङ्गता भनिन्छ ।

अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गताकालागि विशेष प्रविधी र व्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरुको मन दुख्ने गरी वा आत्मसम्मानमा ठेस पुग्नेगरी विभिन्न गलत शब्दावलीले सम्बोधन गरिरहेका हुनसक्छौं। यस्ता गल्ती नगर्नलाई निम्न सन्देशमा राम्ररी ध्यान दिनुहोला।

दृष्टिविहीन व्यक्ति : चस्मा प्रयोग गर्दा पनि वस्तुको रंग, रूप, आकार, आकृति वा प्रकार छुट्याउन नसक्ने । दुवै आँखाले पूरै देख्न नसक्ने । हिँडडुल गर्न मानव पथ-प्रदर्शक वा सेतोछडीको प्रयोग गर्ने ।

न्यूनदृष्टियुक्त व्यक्ति : चस्मा प्रयोग गरेर वा नगरे पनि नजिकबाट ठूलो वस्तुको आकार र रंग छुट्याउन सक्ने, सानो वस्तु देख्न वा साना अक्षरहरू पढ्न अवरोध हुने। ठूला वस्तु वा अक्षर आँखाको नजिक लगेर पढ्न सक्ने, सेतो छडी नलिइकन पनि सामान्य हिँडडुल गर्न सक्ने, २० फीटभन्दा कमको दूरीबाट हातको औंला छुट्याउन सक्ने ।

शारीरिक अपाङ्गता भएका व्यक्ति : हात, खुट्टा, ढाड, हाड, जोर्नी, मांसपेशी, नसालगायत अन्य अङ्ग वा प्रणालीमा आंशिक वा पूर्णरूपमा क्षति पुगी अङ्गहरू चलाउन, हिँडडुल गर्न, हात–खुट्टा चलाउन समस्या वा कठिनाइ हुने।उमेर पुगिसकेका तर ४ फिटभन्दा साना व्यक्ति।

बहिरा व्यक्ति : पूरै सुन्न र बोल्न नसक्ने, आवाज केही मात्रामा आउने भए पनि त्यो अस्पष्ट र नबुझिने हुने, बोल्न सक्ने तर सुन्न चाहिँ पुरै नसक्ने, श्रवण-यन्त्र लगाएर पनि सुन्न नसक्ने, सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नु पर्ने व्यक्तिहरू।

सुस्त-श्रवण भएका व्यक्ति : कान कम सुन्ने वा नजिकबाट आएको ठूलो आवाज सुन्न सक्ने, स्पष्ट बोल्न सक्ने तर सानो वा सामान्य स्वरमा बोलेको सुन्न नसक्ने, श्रवण-यन्त्र लगाएर सुन्न सक्ने व्यक्ति।

स्वर-बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति : सुन्न सक्ने तर स्वर र बोलीमा मात्र समस्या भएको, बोल्न वा शब्द उच्चारण गर्नमा कठिनाइ हुने वा अक्षर वा शब्द दोहोर्याएर वा भकभकाएर बोल्ने, ओठ वा तालु फाटेर बोल्न अवरोध हुने, विभिन्न कारणले कृत्रिम स्वर-यन्त्र प्रयोग गर्नु पर्ने ।

अटिज्म भएका व्यक्ति : सामान्य सञ्चारमा कठिनाइ हुने, सामाजिक व्यवहार गर्न कठिनाइ हुने, एउटै क्रियाकलाप दोहोर्याइरहने, दृश्य र तस्बीरहरूका माध्यमबाट सिक्न सक्ने वा सञ्चार गर्ने, एक्लै बस्न मन पराउने ।

बौद्धिक वा सिकाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति : उमेर अनुसार सिक्नु पर्ने कुराहरू सिक्न वा गर्नु पर्ने क्रियाकलापहरू गर्न नसक्ने, उमेर बढ्दै गए पनि व्यवहार सानै बच्चाको जस्तो रहने, सिक्न सके पनि सिकाइमा ढिलाइ हुने र एउटा निश्चित समयपछि सिकाइ अघि बढ्न नसक्ने व्यक्ति।

मनो-सामाजिक अपाङ्गता भएका व्यक्ति : विभिन्न कारणले मानसिक अवस्थामा विचलन आई दैनिक जीवनका क्रियाकलाप र जीवनका विभिन्न पक्षमा सहभागी हुन अवरोधहरूको सामना गर्नु पर्ने।

श्रवण-दृष्टिविहिन व्यक्ति : आँखा नदेख्ने, बोल्न नसक्ने र कान सुन्नसमेत नसक्ने व्यक्ति।

अपाङ्गता भएका व्यक्ति : माथि उल्लेख गरिएका व्यक्तिहरूलाई समग्रमा सम्बोधन गर्दा प्रयोग हुने शब्द (साझा शब्द)हो-अपाङ्गता भएका व्यक्ति।

तपाई हामी चाहे सपाङ्ग छौं या अपाङ्ग, हामीले चाहेर या नचाहेर अपाङ्गता हुने या नहुने हैन् । अपाङ्गता भएका व्यक्तिहरुलाई माया, सद्भाव, समान हेरार्इ अनि हौसलाको जरुरत हुन्छ ।

Addressing PWDs Correctly Poster - Read Below in Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here