काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको ईतिहाँसमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गरेका छन् । उनले भने,‘यो समिटको आयोजक संस्था र साझेदारी संस्थाप्रति हाम्रो सुरुदेखि नै असहमति थियो । अब त गम्भिर आपत्ति पनि छ ।’
नितान्त धार्मिक आईएनजिओले गरेको कार्यक्रम र त्यसमा पनि क्रिश्चियनहरुभित्रै विवादित संस्था भएकोले उक्त संस्थालाई आम क्रिश्चियनहरुले पनि नपत्याएको उल्लेख गर्दै उनले भने,‘यो संस्थाले अकुत सम्पत्ति कमाएको र कर छली गरेकोले यसका संस्थापक जेल परेका थिए । उत्तर कोरिया र दक्षिण कोरियाबीच जासुसीको काम गरेकोले उनलाई प्रतिबन्ध लगाईएको थियो । यो संस्थाले धेरै पैसा उठाएको छ । यो पैसा कहाँबाट आउँछ ?’
उक्त संस्थाको आफ्नै ‘ग्लोबल गभर्मेन्ट’ रहेको पनि उनले सुनाए । उनले भने,‘यो संस्थासँग कार्यपालिका पनि छ । लेजिस्लेचरपनि छ । खाली जुडिसियल छैन् । नेपालमा यो सम्मेलन सम्पन्न भएसँगै कतै यसको ‘ग्लोबल–हेडक्वार्टर’ नेपालमा त छैन भन्ने आशंका लाग्न थालेको छ ।’
संस्थाका प्रमुखलाई उत्तर कोरिया, जापान र बेलायत जान प्रतिबन्ध गरिएको बताउँदै उनले उनकै कान्छी श्रीमती मुनलाई नेपालमा ल्याएर आर्शिवाद लिनु गलत भएको टिप्पणी गरे । उनले भने,‘नेपालको ईतिहाँसमा यो राजनैतिक र कुटनैतिक रुपमा अर्को ठूलो भुकम्प हो । विश्वभरि नेपालबारे अब सबैभन्दा कमजोर दृष्टिकोण भएको सरकार हो भनेर मेसेज गएको छ । हाम्रो प्रधानमन्त्री त चार रात प्रधानमन्त्री निवास छोडेर होटेलमा गएर बस्नुभयो । अरु देशमा मन्त्रीहरुपनि नजाने कार्यक्रममा हाम्रो देशका प्रधानमन्त्रीले त निवास नै छोडेर जानुभयो ।’
प्रधानमन्त्री ओलीले गम्भिर गल्ती गरेको भन्दै उनले आफूहरु अहिले नै उनको राजिनामा माग्ने पक्षमा नभएपनि प्रधानमन्त्रीले सार्वभौम संसदमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताए । उनले भने,‘उहाँलाई सच्चिने समय छ । यस्तो विवादित कार्यक्रममा सरकारको संलग्नता हुनु आपत्तिजनक छ । हाम्रो यसप्रति सैद्धान्तिक रुपमा असहमति र घट्नाप्रति पूर्ण आपत्ति छ । प्रधानमन्त्रीको तहबाट क्रिश्चियन धर्मलाई उच्च सम्मान र हिन्दू धर्मलाई खिल्ली उडाउने काम भयो । उहाँले व्यक्तिगत रुपमा पाउनुहुन्छ । तर, सरकारको प्रमुख भएपछि यस्तो गलत काम गर्नुहुँदैन् । त्यो पनि राज्यकोषबाट पैसा खर्च गरेर ।’ आफूहरुले यसप्रति विधिसम्मत् ढंगले प्रतिवाद गर्ने पनि उनले जनाए ।
नेता विश्वकर्माले सरकारले नौटंकी र जोकर काम गरिरहेको पनि आरोप लगाए । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण र ३३ केजी सुन प्रकरणलगायत हत्या, हिंसा र बलात्कारका घट्नामा सरकार पूर्ण रुपमा चुकेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकार त अहिले अभियुक्त नजिक पुगिसकेपछि आँफै ब्याक हुन्छ । सरकारले अहिले आफ्नो मान्छेले चोरेको थाहा पाएपछि ‘खेद्नु तर नभेट्नु’ भनेजस्तो गरिरहेको छ । सरकार अहिले निर्मला पन्तको बलात्कारी खोज्दै खोज्दै जान्छ, फेरी आँफैकहाँ आईपुग्छ फुत्तै छोडिदिन्छ।’
देशलाई धार्मिक द्वन्द्वमा र भ्रष्टाचारमा चुर्लुम्मै डुबाउने, हत्या, हिंसामा चुर्लुम्म डुबिसकेको प्रधानमन्त्रीको फोटो सबै खम्बामा राख्नुपर्ने अनि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्याय माग्नको लागि उनको फोटो किन राख्न नपाउने ? भन्दै उनले प्रश्न गरे । उनले भने,‘यो सरकार आँफै हत्या, हिंसा, बलात्कार र अपराध, तस्करी, भ्रष्टाचार हुँदाहुँदै अब धार्मिक द्वन्द्वको पनि नाईके हुन थाल्यो।’ सरकारका गतिविधिप्रति आफ्नो पार्टीको गम्भिर भत्र्सना रहेको उनको भनाई छ ।

















